
काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना बाहिरिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्म दसैँ मनाउन उपत्यका छाड्नेको संख्या उल्लेख्य रहेको छ ।
उपत्यकाबाट बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरै नागढुंगा नाका हुँदै २७ हजार ६४९ जना बाहिरिएका छन् । भक्तपुर नाकाबाट २० हजार ६१५, फर्पिङबाट पाँच हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुंगाबाट ५१३ र थानकोटबाट ५६ जना बाहिरिएका छन् ।
दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू घर फर्किन थालेपछि प्रमुख नाकाहरूमा चहलपहल बढेको छ । सार्वजनिक यातायातमा यात्रुको चाप बढेसँगै यातायात व्यवस्थापनमा पनि चुनौती थपिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए । दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएकाले सवारीसाधनलाई समयमै गन्तव्यमा पुग्न र काठमाडौं फर्किन कठिनाइ भइरहेको उनको भनाइ छ ।
गत २३ असोजमा अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएपछि सवारी आवागमन अवरुद्ध भएको थियो । त्यसका कारण धेरै सवारीसाधन काठमाडौंमै रोकिँदा यातायात व्यवस्थापनमा थप समस्या भएको गौतमले बताए ।
यात्रुको चाप बढिरहेका बेला महासंघले टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

























