
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका प्रश्नबारे आन्तरिक छानबिन सुरु गरेको छ । पार्टीले छानबिनको निष्कर्ष नआएसम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा सुनारबारे सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनीमाथि उठाइएका गम्भीर प्रश्नप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषय गम्भीर र संवेदनशील रहेको उल्लेख छ । यी विषय सञ्चारमाध्यममा आरोपका रूपमा सार्वजनिक भएको जनाउँदै पार्टीले यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पारेको छ ।
सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ । अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन पूरा नहुँदासम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको रास्वपाले जनाएको छ ।
पार्टीले राज्यका सम्बन्धित निकायबाट पनि अविलम्ब स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ । त्यस्तो अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै रास्वपाले कानुन र पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै विज्ञप्तिमा कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने स्पष्ट पारिएको छ ।




















