विवादित अडियोबारे सुनारको दाबी : ‘चरित्रहत्या गर्ने षड्यन्त्र भयो’

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २७, मंगलबार ११:४५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो सार्वजनिक भएपछि आफूविरुद्ध नियोजित रूपमा चरित्रहत्या गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

फेसबुकमा भिडियो सार्वजनिक गर्दै सुनारले सोमबार सार्वजनिक भएको अडियो आफ्नो नभएको जिकिर गरेका हुन् । उनले काल्पनिक पात्र खडा गरी प्रविधि वा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेर अडियो तयार पारिएको र आफूलाई जोडेर प्रचार गरिएको दाबी गरेका छन् ।

संसद्को सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारबारे प्रश्न उठाएकै कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको सुनारको भनाइ छ । प्रहरीभित्रका अनियमितताविरुद्ध आवाज उठाएदेखि नै प्रहरी नेतृत्वले धम्क्याउने गरेको आरोपसमेत उनले लगाएका छन् ।

कसैले मुद्दा नहालेपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालको दुरुपयोग गरेर आफ्नो तथा अन्य व्यक्तिको चरित्रहत्या गर्ने प्रयास गरिएको उनले दाबी गरे । आफू कुनै पनि अनुसन्धानबाट नभाग्ने स्पष्ट पार्दै सुनारले पार्टी, संसद् र राज्यका निकायबाट हुने निष्पक्ष छानबिनमा सहयोग गर्न तयार रहेको बताए ।

आफूले कानुन र नैतिकताविपरीत गल्ती वा अपराध गरेको पुष्टि भए पार्टीको केन्द्रीय समिति र सांसद पदबाट निलम्बित हुन मात्र नभई हत्कडी लगाएर जस्तोसुकै कानुनी सजाय भोग्न पनि तयार रहेको उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.