
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज (बुधबार) सुधार आएको छ । यस दिन नेप्से २१ दशमलव ३२ अंकले बढेर २ हजार ६२१ दशमलव २६ विन्दुमा पुगेर बन्द भएको छ ।
बुधबार बजारमा कुल ४ अर्ब १३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभर १ करोड १६ लाख कित्ता सेयर किनबेच भएका छन् ।
यस दिन बजारमा खरिदकर्ताको आकर्षण देखिएको छ । कारोबारमा सहभागी १८८ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ९ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।
बुधबार कुल ३५४ वटा स्क्रिपको कारोबार भएको थियो । ३९ हजार १८३ पटकको कारोबारबाट उक्त रकम बराबरको सेयर किनबेच भएको हो ।
यस दिन सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीमा डिबेन्चर तथा म्युचुअल फन्डको वर्चस्व देखिएको छ । सिद्धार्थ बैंकको डिबेन्चरको मूल्य सर्वाधिक १३ दशमलव २१ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोपावरको २१ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
समूहगत सूचकतर्फ बैंकिङ, विकास बैंक र निर्जीवन बीमा समूह एक प्रतिशतभन्दा बढीले बढेका छन् । बुधबार सबै समूहका सूचक सकारात्मक रहे पनि अन्य समूहको वृद्धि भने एक प्रतिशतभन्दा कम रहेको छ ।

























