
जनकपुर । सामाजिक सञ्जाल टिकटकमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीनिया गाउँपालिका–१ का २० वर्षीय राजु यादव उर्फ क्रिमिनल छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी ओमप्रकाश खनालका अनुसार यादवले समाजमा हिंसा फैलाउन उक्साउने तथा विभिन्न व्यक्ति, समुदाय र सङ्गठनको मर्यादामा आँच पुर्याउने खालका भिडियो बनाएर टिकटकमा अपलोड गर्ने गरेका थिए ।
प्रहरीले उनलाई असोज २७ गते जनकपुर उपमहानगरपालिका–९ बाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा यादवले आपत्तिजनक शब्द प्रयोग गर्ने र धाकधम्की दिने गरेको खुलेको डीएसपी खनालले बताए ।
धनुषा प्रहरीले यसअघि पनि सामाजिक सञ्जालको दुरुपयोग गरी यस्ता गतिविधि गरेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो ।

























