
काठमाडौं । औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक मापदण्ड पूरा नगरेका ४७ प्रकारका औषधिको नयाँ उत्पादन र आयातमा रोक लगाएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको प्राविधिक मापदण्ड ‘टीआरएस’अनुसार आवश्यक मापदण्ड पूरा नगरेका औषधिमा यस्तो रोक लगाइएको विभागले जनाएको छ ।
विभागका अनुसार असोज २० गते महानिर्देशकस्तरीय निर्णयबाट ती औषधिको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा पैठारी सिफारिस पत्रलगायत खारेज गरिएको हो ।
विभागका महानिर्देशक भरत भट्टराईले सार्वजनिक सूचना जारी गर्दै विभिन्न कम्पनीका ४७ प्रकारका औषधिको नयाँ उत्पादन र आयातमा रोक लगाइएको जानकारी दिएका छन् ।
यद्यपि, बजारमा यसअघि नै बिक्री वितरण हुँदै आएका ती औषधिको बिक्रीमा भने रोक नलगाइएको विभागले स्पष्ट पारेको छ ।
‘इम्युनोसप्रेसन्ट’ वर्गका औषधिको गुणस्तर र सुरक्षाको सुनिश्चितता तथा ‘क्रस कन्टामिनेसन’ अर्थात् एक औषधिबाट अर्को औषधिमा दूषण सर्ने जोखिम न्यूनीकरण गर्न विभागले जोखिम मूल्याङ्कनसम्बन्धी प्रक्रिया अघि बढाएको थियो । यसका लागि विभागले २०८३ जेठ २१ गते सार्वजनिक सूचना जारी गरेको थियो ।
विभागले जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिको आपूर्ति शृङ्खलामा सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन तथा पैठारी अनुमति दिएको जनाएको छ ।
त्यस्ता औषधि आयात गर्दा सम्बन्धित उत्पादक तथा पैठारीकर्ताले भन्सार प्रज्ञापनपत्रसहित हालको मौज्दात विवरण अविलम्ब विभागमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

























