मोरङमा कुटपिटबाट घाइते भएका साहको मृत्यु

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०९:१९

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा कुटपिटबाट घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ ।

कुटपिटबाट घाइते भएका धनपालथान गाउँपालिका–२ पैटाका ५८ वर्षीय बलदेव साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान करिब ११ः२० बजे बारीमा टाटी लगाउने विषयमा बलदेव र ३० वर्षीय रविन साहबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

विवादका क्रममा रविनले बलदेवलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते बलदेवको शरीरमा बाहिरी चोट नदेखिए पनि उनी बेहोस भएका थिए ।

त्यसपछि उनलाई उपचारका लागि जीवन विकास अस्पताल लगिएको थियो । सुरुमा उनको अवस्था मध्यम रहे पनि दिउँसो अवस्था गम्भीर बन्दै गएको थियो । थप उपचार सम्भव नहुने चिकित्सकको सल्लाहपछि आफन्तले उनलाई घरतर्फ लिएर गएका थिए । घर लैजाने क्रममा साँझ ५ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्न रविनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा राखेको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले घटनाको अनुसन्धान भइरहेको बताए ।

मृतक बलदेवलाई दुवै मिर्गौलासम्बन्धी समस्या हुनुका साथै मुटुको पुरानो समस्या पनि रहेको बताइएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×