क्यानाडामा नेपालीभाषी युवा ‘यङ्ग लिडर’ अवार्डबाट सम्मानित

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २९, बिहीबार ०९:५६

विराटनगर । क्यानाडाको अल्बर्टा प्रान्त सरकारले प्रदान गर्ने प्रतिष्ठित ‘अल्बर्टा इमिग्रेन्ट इम्प्याक्ट अवार्ड्स २०२६’ बाट पूर्वभुटानी नेपालीभाषी युवा कमल खतिवडा सम्मानित भएका छन् । आप्रवासीले क्यानाडाली समाजमा पुर्‍याएको योगदानको कदर गर्दै प्रदान गरिने अवार्डमा उनले ‘यङ्ग लिडर’ विधा पुरस्कार प्राप्त गरेको क्यानाडाको अन्टारियोमा रहेका बेनुप अच्यूतले जानकारी दिए ।

क्यालगरी विश्वविद्यालयबाट सामाजिक कार्य विषयमा स्नातकोत्तर (एमएसडब्ल्यू) गरेका खतिवडा हाल सोही विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत छन् । उनी मानसिक स्वास्थ्य प्रवर्द्धन, सामाजिक समावेशीकरण र युवाको सशक्तीकरणका क्षेत्रमा सक्रिय छन्। उनी क्यानाडामा दर्ता भएका सामाजिक कार्यकर्ता पनि हुन् ।

चुनौतीपूर्ण पृष्ठभूमिबाट क्यानाडा पुगेका खतिवडाको शैक्षिक र व्यावसायिक यात्रा प्रेरणादायी मानिएको छ । नेपालबाट शरणार्थीका रूपमा क्यानाडा पुगेपछि उनले सामाजिक, आर्थिक र सांस्कृतिक चुनौती पार गर्दै आप्रवासी तथा शरणार्थी समुदायमा नेतृत्वदायी भूमिका स्थापित गरेका छन् ।

खतिवडाले अध्ययन गरेको क्यालगरी विश्वविद्यालयको सामाजिक कार्य संकायले उनलाई बधाई दिँदै उनको उपलब्धिप्रति गर्व व्यक्त गरेको छ । विश्वविद्यालयले क्यानाडामा नयाँ आप्रवासी तथा शरणार्थी समुदायका लागि उनले पुर्‍याएको योगदान र हासिल गरेका उपलब्धिको प्रशंसा गरेको हो ।

अल्बर्टा सरकारले आयोजना गर्ने यो अवार्ड कार्यक्रममार्फत प्रान्तका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने आप्रवासी प्रतिभा तथा सामुदायिक अगुवालाई सम्मान गरिन्छ । यस वर्ष आठ विधामा २० जनालाई पुरस्कृत गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×