फाइल फाेटाेविराटनगर । मोरङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जना पैदलयात्रीको मृत्यु भएको छ । रंगेली नगरपालिका र बूढीगंगा गाउँपालिकामा दुर्घटना हुँदा वृद्ध–वृद्धाको मृत्यु भएको हो ।
दुर्घटनामा ७३ वर्षीया महिला र ७२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली नगरपालिका–१ बबियाबिर्तास्थित भित्री सडक खण्डमा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट ७३ वर्षीया सुलेना साहको मृत्यु भएको छ ।
कर्सियाबाट बबियाबिर्तातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेकी साहलाई साँझ करिब ६ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल रेफर गरियो ।
प्रहरीका अनुसार बाहिरी चोट नदेखिए पनि उनको अवस्था गम्भीर रहेको थियो । उपचारका क्रममा स्वास्थ्यमा सुधार नभएपछि बिहीबार बिहान करिब २ः३० बजे आफन्तले उनलाई डिस्चार्ज गरी घर लगेका थिए । घर लगिएको केही समयपछि बिहान ४ः४५ बजेतिर उनको मृत्यु भएको डीएसपी मिश्रले बताए ।
उनका अनुसार हालसम्म ठक्कर दिने मोटरसाइकल र चालकको विवरण पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धान सुरु गरेर मोटरसाइकल र चालकको खोजी तीव्र पारिएको जानकारी मिश्रले दिए ।
यसैगरी, कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकमा ्मंगलबार बिहान करिब १०ः५० बजेतिर इन्धन बोकेको ट्यांकरको ठक्करबाट घाइते भएका ७२ वर्षीय बलबहादुर थापामगरको पनि मृत्यु भएको छ । को १ ख ४५९६ नम्बरको तेल ट्यांकरले पैदलयात्री सुनसरीको दुहबी नगरपालिका–५ का थापामगरलाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर अनुहार र टाउकोमा चोट लागेका उनलाई बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।
दुर्घटना भएको दुई दिनपछि उपचारकै क्रममा बिहीबार बिहान ४ः२५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरिदिएको डीएसपी मिश्रले बताए । दुर्घटनामा संलग्न ट्यांकर र चालक सुनसरीको रामधुनी नगरपालिका–९ का ३२ वर्षीय अरविन महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।



















