
उदयपुर । उदयपुरमा उत्पादित मासुमध्ये ३९ प्रतिशत अन्य जिल्लामा निर्यात हुने गरेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका अनुसार जिल्लामा वार्षिक करिब आठ हजार मेट्रिकटन मासु उत्पादन हुने गरेको छ ।
केन्द्रका कार्यालय प्रमुख शुक्रराज लिम्बूका अनुसार जिल्लामा उत्पादित कुल मासुमध्ये ६१ प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने बाँकी ३९ प्रतिशत अन्य जिल्लामा निर्यात हुने गरेको छ ।
गत आर्थिक वर्ष २०८२र८३ मा उदयपुरमा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२१ मेट्रिकटन बढी हो । अघिल्लो वर्षको तुलनामा मासु उत्पादन २.९२ प्रतिशतले बढेको केन्द्रले जनाएको छ ।
गत आवमा जिल्लामा सबैभन्दा बढी दुई हजार १३९ मेट्रिकटन सुँगुर–बङ्गुरको मासु उत्पादन भएको थियो । त्यसैगरी खसीबोकाको एक हजार ९४४, कुखुराको एक हजार ८३५ र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको थियो । यस अवधिमा भेडाको १।५ मेट्रिकटन र हाँसको १० मेट्रिकटन मासु उत्पादन भएको केन्द्रको तथ्याङ्क छ ।
कार्यालय प्रमुख लिम्बूले उदयपुर मासु उत्पादनमा आत्मनिर्भर रहेको बताए। जिल्लामा उत्पादित मासुको ठूलो हिस्सा स्थानीय बजारमै खपत हुने र बाँकी अन्य जिल्लामा जाने गरेको उनले जानकारी दिए ।
जिल्लामा आवश्यक पर्ने मासुमध्ये कहिलेकाहीँ सुनसरीको बराह क्षेत्र र सप्तरीको सिसबारी क्षेत्रबाट बोइलर कुखुरा आयात गर्नुपर्ने अवस्था रहेको उनले बताए । विशेषगरी दसैँको समयमा उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा र सुँगुर–बङ्गुर अन्य जिल्लामा बढी निर्यात हुने गरेको केन्द्रले जनाएको छ ।

























