
विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा रुसी नाटककार एन्टोन चेखभको लोकप्रिय नाटक ‘अन्तिम गीत’ आज (बिहीबार) दुई शो मञ्चन हुने भएको छ । बुधबारदेखि मञ्चन सुरु भएको नाटक दिउँसो १ बजे र साँझ ५ बजे प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
महेश पौड्यालको अनुवाद र नवराज बुढाथोकीको निर्देशनमा तयार भएको नाटक काठमाडौंमा सफल मञ्चनपछि विराटनगरमा प्रस्तुत गरिएको हो ।
शैली थिएटरको प्रस्तुति, रुसी सदनको साझेदारी र आरोहण गुरुकुल विराटनगरको सहकार्यमा नाटक मञ्चन भइरहेको छ । नाटकमा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल र सब्बु गुरुङको अभिनय छ ।
स्थानीय दर्शकमाझ उत्कृष्ट नाट्यकृति पुर्याउने उद्देश्यले नाटक मञ्चन गरिएको आरोहण गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
विराटनगर–८ हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन भइरहेको नाटकको व्यवस्थापन भैरव क्षेत्री, विवश पोखरेल, राम प्याकुरेल र भवानीप्रसाद अधिकारीले गरेका छन् । कार्यक्रम संयोजन देवेन्द्र यादवले गरेका छन् ।



















