
काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका बाबु थापा पक्राउ परेका छन् । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका उनलाई प्रहरीले सर्लाहीस्थित घरबाट पक्राउ गरेको हो ।
सर्लाहीको बागमती नगरपालिका–१ घर भएका ४८ वर्षीय थापालाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताएका छन् ।
थापा २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थिए । त्यसपछि विभिन्न ठाउँमा लुकेर बसेका उनी बुधबार राति घर पुगेको अवस्थामा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले थापाको साथबाट दुई थान पेस्तोलसमेत बरामद गरेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा म्याद लिएर अनुसन्धान अघि बढाइने डीएसपी राईले जानकारी दिए । न्यायाधीश बमको हत्या गरेको कसुरमा अदालतले थापालाई जन्मकैदको सजाय सुनाएको थियो । २०६९ जेठ १८ गते बमको हत्या भएको थियो। उक्त घटनामा संलग्न रहेको अभियोगमा थापा यसअघि २०७१ सालमा पक्राउ परेका थिए ।



















