महाअष्टमी : देशभरका शक्तिपीठमा श्रद्धालुको घुइँचो

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १, आइतबार

काठमाडौं । बडादसैँको नवरात्रसँगै देशभरका शक्तिपीठ र देवी मन्दिरमा श्रद्धालुको चहलपहल बढेको छ । महाअष्टमीका अवसरमा आइतबार बिहानैदेखि मन्दिरहरूमा दर्शन र पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको छ । कतिपय शक्तिपीठमा परम्पराअनुसार बलिसहित पूजा भइरहेको छ भने भक्तजन व्रत, जप र ध्यानमा पनि जुटेका छन् ।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, दक्षिणकाली, बगलामुखी, सङ्कटा र बज्रयोगिनीलगायत शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको लाम लागेको छ । दसैँको बिदा र नवरात्रको धार्मिक महत्त्वका कारण एकै दिन धेरै देवी मन्दिरमा दर्शन गर्नेहरू पनि छन् ।

पशुपतिनाथ क्षेत्रनजिक रहेको गुह्येश्वरी मन्दिरमा फूलपातीदेखि नै भक्तजनको चाप बढ्ने गरेको छ। यहाँ दर्शनसँगै पूजाआजा र बलिपूजा गर्ने परम्परा छ । उपत्यकाका दक्षिणकाली, शोभा भगवती, मैतीदेवी र भद्रकालीलगायत मन्दिरमा पनि श्रद्धालु बिहानैदेखि पुगेका छन् ।

उपत्यकाबाहिरका प्रसिद्ध शक्तिपीठमा पनि भक्तजनको घुइँचो छ । गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, डडेल्धुराको उग्रतारा, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, पर्साको गहवामाई, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती र चण्डेश्वरी, सिन्धुपाल्चोकको पाल्चोक भगवती तथा दोलखाको कालिञ्चोक भगवतीमा श्रद्धालु पुगेर पूजा गरिरहेका छन् ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ डडेल्धुरास्थित उग्रतारा भगवती मन्दिरमा महाअष्टमीका अवसरमा मेला लागेको छ । सदरमुकामबाट करिब चार किलोमिटर उत्तरमा रहेको मन्दिरमा सुदूरपश्चिमका नौवटै जिल्ला तथा अन्य क्षेत्रबाट भक्तजन आएका छन् ।

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमीका दिन राँगा र बोकाको बलि दिएर पूजाआजा गर्ने परम्परा छ । दसैँका दिन पनि यहाँ विशेष पूजाआजा हुन्छ । उग्रतारालाई सुदूरपश्चिमका नौ भगवती मन्दिरमध्ये एक मानिन्छ ।

नवरात्रमा देवीको पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । नौ दिनसम्म महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नवदुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ । महाअष्टमीका दिन कतिपय मन्दिरमा पशुबलि दिइन्छ भने बलि नदिने भक्तजनले आफ्नो कुलपरम्पराअनुसार कुभिण्डो, नरिवल, घिरौँला र अन्य फलफूल चढाएर पूजा गर्ने गर्छन् ।

महाअष्टमीका दिन देवीको पूजासँगै हातहतियार, कलपुर्जा र सवारीसाधनको पूजा गर्ने चलन पनि छ। साँझ र राति विभिन्न शक्तिपीठमा विशेष पूजाआजा हुने गर्छ । काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँघरमा पनि परम्पराअनुसार कालरात्रि पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेर सुरु भएको दुर्गा पूजा नवमीसम्म चल्छ। दसैँको मुख्य दिन विजयादशमीमा देवीको प्रसादका रूपमा टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने परम्परा छ । यसरी नवरात्रका नौ दिन देशभरका शक्तिपीठमा हुने पूजाआजा र श्रद्धालुको चहलपहलले दसैँको धार्मिक तथा सांस्कृतिक रौनक बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×