
विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीलाई मुडुला कार्की कुलायन समाजले सम्मान गरेको छ । प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा पुगेर कार्की वंशको प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्याएको भन्दै समाजले उनलाई सम्मान गरेको हो ।
समाजको केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा अध्यक्ष रेवतबहादुर कार्कीले प्रमुख निर्वाचन आयुक्त कार्कीलाई सम्मान गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका विराटनगर महानगर सभापति कृष्ण कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रोहन कार्कीलगायत कार्की बन्धुहरूको उपस्थिति थियो ।
कार्यक्रममा समाजका अध्यक्ष रेवतबहादुर कार्कीले मुडुला कार्की कुलको पहिचान, प्रतिष्ठा र परम्परा संरक्षण गर्दै समाजलाई संगठित बनाउने अभियान अघि बढाइएको बताए । उनले समाजको सचिवालय निर्माण, वंशावली तयार गर्ने तथा देशभर छरिएर रहेका मुडुला कार्की बन्धुहरूलाई एकताबद्ध गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए ।
नेपाली कांग्रेसका विराटनगर महानगर सभापति कृष्ण कार्कीले राजनीतिक तथा व्यावसायिक आबद्धता फरक भए पनि कुलको पहिचान, प्रतिष्ठा र सामाजिक हितका विषयमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । आपसी सहयोग, सद्भाव र एकतालाई बलियो बनाउँदै नयाँ पुस्तालाई समेत समाजसँग जोड्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमले कार्की बन्धुहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै सामाजिक एकता र सद्भाव अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। समाजले कुलको पहिचान र मानमर्यादा जोगाउँदै भावी पुस्तामा वंश परम्परा हस्तान्तरण गर्ने उद्देश्यसहित आफ्ना गतिविधिलाई थप व्यवस्थित बनाउने जनाएको छ।

























