
चितवन । बाढीपछि मुख्य राजमार्गमा यातायात अवरोध हटे पनि पुनः वर्षा र बाढी आउने आशङ्काले यस वर्षको दसैँमा चितवनको सौराहामा आन्तरिक पर्यटकको आगमन अपेक्षाकृत कम देखिएको छ। विगतका वर्षमा दसैँ बिदामा पर्यटकले भरिभराउ हुने पर्यटकीय गन्तव्यमा यसपटक भने चहलपहल बढ्न सकेको छैन।
भोटेकोशी र बूढीगण्डकीमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिले पनि दसैँको उत्साह प्रभावित पारेको पर्यटन व्यवसायीहरूको भनाइ छ। गत वर्ष जेनजी आन्दोलनका कारण पर्यटकको आगमन प्रभावित भएको थियो भने यस वर्ष बाढीपछिको त्रासले पर्यटन व्यवसायमा असर पारेको छ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार सौराहामा यस वर्षको दसैँमा अपेक्षाकृत पर्यटक आएका छैनन्। उनले आफ्नो होटल ल्याण्डमार्कमा बिहीबार ७५ कोठामध्ये सात कोठा मात्रै बुकिङ भएको जानकारी दिए।
उनका अनुसार सौराहा मात्रै नभई पोखरालगायत अन्य प्रमुख पर्यटकीय गन्तव्यमा पनि विगतका वर्षको तुलनामा आन्तरिक पर्यटकको चहलपहल कम छ। वर्षाका कारण सडक पुनः अवरुद्ध हुन सक्ने आशङ्काले पर्यटकले भ्रमण योजना बनाउन हिचकिचाएको उनको अनुमान छ।
यद्यपि, पछिल्ला दिनमा बाढीका कारण स्थगित भएका बुकिङ पुनः हुन थालेका छन्। नयाँ बुकिङसमेत आउन थालेकाले दसैँसँगै आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको पाण्डेले बताए।
सप्ताहान्तमा पर्यटक बढ्ने व्यवसायीको अपेक्षा
होटल व्यवसायी सुमन घिमिरेले शुक्रबारदेखि आइतबारसम्म सौराहामा पर्यटकको आगमन बढ्ने अपेक्षा व्यक्त गरेका छन्। दसैँ बिदाका कारण आगामी दिनमा होटलहरू भरिने विश्वास रहेको उनको भनाइ छ।
उनका अनुसार अहिले सौराहामा विगतका वर्षमा जस्तो चहलपहल देखिएको छैन। तर पर्यटकको आगमन बढ्दै गएसँगै आगामी महिनाहरूमा पनि व्यवसायले गति लिने अपेक्षा गरिएको छ।
होटल भिष्टाका सञ्चालक रमेश सिलवालले पनि दसैँसँगै आन्तरिक पर्यटकको आगमन बढ्ने आशा व्यक्त गरे। उनका अनुसार विदेशी पर्यटक केही सङ्ख्यामा आउन थालेका छन् भने भारतीयसहित अन्य देशका पर्यटकले पनि सोधपुछ र बुकिङ गर्न थालेका छन्।
विदेशी पर्यटकको आगमनले व्यवसायीलाई राहत
सौराहास्थित वनवास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दसैँका पछिल्ला तीन दिन उनको होटल विदेशी पर्यटकले भरिएको छ। जर्मनी, डेनमार्क, बेल्जियम, अस्ट्रेलिया र अमेरिकाबाट पर्यटक आएको उनले जानकारी दिए।
आन्तरिक पर्यटकको बुकिङ भने अपेक्षाकृत कमजोर रहेको न्यौपानेले बताए। भोटेकोशी बाढीका कारण रोकिएका पर्यटक पुनः नेपालका विभिन्न गन्तव्यमा घुम्न आउन थालेको उनको भनाइ छ। नेपाल आएका विदेशी पर्यटक विगतमा जस्तै सौराहा पनि पुग्न थालेकाले आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्नेमा उनी आशावादी छन्।
बाढीका कारण भ्रमण रद्द हुँदा पर्यटन व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको थियो। वर्षायाम सकिएपछि पर्यटकको आगमन बढ्ने अपेक्षा गरिए पनि यसपटकको दसैँमा आन्तरिक पर्यटकको कमजोर उपस्थितिले व्यवसायीलाई चिन्तित बनाएको छ।
वन्यजन्तु र सफारी पर्यटनको प्रमुख गन्तव्य सौराहा
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा रहेको सौराहा वन्यजन्तु अवलोकन र सफारी पर्यटनका लागि प्रसिद्ध छ। निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घुम्न आउने अधिकांश पर्यटक सौराहामा बस्ने गर्छन्। भरतपुरका पटिहानी, जगतपुर र मेघौली क्षेत्र पनि पर्यटकका आकर्षक गन्तव्य हुन्।
यहाँ आउने पर्यटकले हात्ती सफारी, जिप सफारी, डुङ्गा यात्रा तथा पैदल भ्रमणमार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्रको अवलोकन गर्छन्। एकसिङ्गे गैँडा, पाटेबाघलगायत दुर्लभ वन्यजन्तु हेर्नुका साथै स्थानीय थारू संस्कृति र परम्पराको अनुभव लिन पनि पर्यटक चितवन पुग्ने गर्छन्।
देशको प्रमुख पर्यटकीय गन्तव्य तथा सफारी पर्यटनको केन्द्रका रूपमा परिचित चितवनमा दसैँपछि पर्यटकको आगमन बढ्ने र सुस्ताएको पर्यटन व्यवसायले गति लिने अपेक्षा व्यवसायीहरूले गरेका छन्।

























