फाइल तस्बिरकाठमाडौं । आगामी बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेकाले मौसमविद्ले किसानलाई धान नकाट्न सुझाव दिएका छन् । विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।
मौसमविद् विनोद पोखरेलले धान पाकिसकेको र काटेर सुकाएर सुरक्षित रूपमा भित्र्याउन समय पुग्ने अवस्था भए स्थानीय मौसम हेरेर मंगलबारअगावै काम सक्ने योजना बनाउन सुझाव दिएका छन् ।
उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्ने सम्भावना रहेकाले यात्रा वा ट्रेकिङमा जानेहरूलाई पनि नियमित मौसम अपडेट र आधिकारिक सूचना हेरेर योजना बनाउन उनले आग्रह गरेका छन् ।
पोखरेलका अनुसार बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवातमा विकसित हुने सम्भावना छ । त्यसको प्रभावले बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै ठाउँमा झरी पर्नुका साथै केही स्थानमा भारी वर्षा हुन सक्छ ।
यसपटक तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको उनले बताएका छन् । यी दुई प्रणालीको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाउँदा नेपालमा भारी वर्षाको सम्भावना बढ्न सक्ने उनको भनाइ छ ।
पोखरेलले करिब एक महिनाअघि पनि यस्तै प्रणालीका कारण नेपालमा भारी वर्षा भएको स्मरण गराएका छन् । त्यतिबेला पूर्वानुमान गरिएको समयभन्दा एक दिनअघि नै वर्षा सुरु भएकाले यसपटक पनि वर्षा सुरु हुने समय, स्थान र मात्रा फरक पर्न सक्ने उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

























