कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ६, शुक्रबार १२:५७
मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

कास्की । कास्कीमा गत असोज महिनामा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन्। अन्य महिनाको तुलनामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज महिनामा ५९ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ७९ वटा सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति र चालकको लापरवाही देखिएको छ। असोज महिनामा तीव्र गतिका कारण मात्रै २० वटा दुर्घटना भएका थिए।

गत असोज २३ गते कास्कीमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा १५ जना घाइते भएका थिए। विद्यालय बस दुर्घटनामा ठूलो मानवीय क्षति हुनुका साथै अन्य साना दुर्घटनासमेत बढेकाले असोज महिनामा समग्र दुर्घटनाको सङ्ख्या उच्च देखिएको डीएसपी पासवानले बताए।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउँदा १० वटा, चालक अनुमतिपत्र नभएका चालकका कारण पाँच वटा र सवारीसाधनमा यान्त्रिक समस्या हुँदा एउटा दुर्घटना भएको थियो। त्यस्तै, अन्य कारणले २३ वटा दुर्घटना भएका थिए।

यसैबीच, असोज महिनामा सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध प्रहरीले चार हजार ७८५ वटा कारबाही गरेको छ। उक्त कारबाहीबाट ३९ लाख ९८ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×