फाइल तस्बिरझापा । धान पाक्ने समय नजिकिएसँगै झापाका किसानलाई बाली जोगाउने चिन्ता बढेको छ । जङ्गली हात्तीको आवतजावत हुने क्षेत्रमा मानवीय तथा भौतिक क्षति रोक्न सशस्त्र प्रहरीले जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ ।
चाडपर्वका बेला मानिसको चहलपहल बढ्ने र बिहान–बेलुका तथा राति हात्तीसँग जम्काभेट हुने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले प्रभावित बस्तीमा माइकिङमार्फत सचेतना फैलाइरहेको छ । हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक अँध्यारोमा घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कता र जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिइएको बताए ।
‘धानबाली जोगाउने चिन्तामा रहेका किसान तथा स्थानीय बासिन्दाले हात्तीको जोखिमलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने वा लखेट्ने प्रयास नगरी सुरक्षित स्थानमा जानुपर्छ,’ उनले भने ।
उनका अनुसार हात्ती प्रभावित क्षेत्रमा मोबाइल तथा पैदल गस्ती परिचालन गरी निगरानी भइरहेको छ । हात्तीको आवतजावतबारे स्थानीयलाई सचेत गराउनुका साथै सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।
धान भित्र्याउने समय नजिकिँदा खेतमा गएर राति बाली कुर्ने वा हात्ती धपाउने प्रयास गर्दा जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन सशस्त्र प्रहरीले आग्रह गरेको छ । हात्तीको बाटो छेक्ने, नजिकै गएर फोटो वा भिडियो खिच्ने तथा भीड जम्मा भएर घेराबन्दी गर्ने काम नगर्न पनि अनुरोध गरिएको छ ।
त्यसैगरी, घर, गोठ र आँगन वरपर हात्तीलाई आकर्षित गर्ने खानेकुरा नराख्न, घर आसपास पर्याप्त उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न आग्रह गरिएको छ । बालबालिका, वृद्धवृद्धा तथा जोखिममा पर्न सक्ने अन्य व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन पनि प्रहरीले अनुरोध गरेको छ ।
झापाको मेचीनगरस्थित बाहुण्डाँगी, बुद्धशान्तिको माथिल्लो क्षेत्र, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका केही क्षेत्रमा जङ्गली हात्तीको आवतजावत र बालीमा क्षतिको समस्या देखिँदै आएको छ । ती क्षेत्रका बासिन्दालाई सतर्क रहन र हात्ती देखिएमा नजिक नजान सशस्त्र प्रहरीले आग्रह गरेको छ ।



















