
काठमाडौं । नेकपा (एमाले) को आगामी मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलामा ३ हजार ३४७ जना सहभागी हुने भएका छन् ।
नेता सूर्य थापाका अनुसार भेलामा वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको मार्गदर्शन, पार्टीले गरेका कामको समीक्षा, संगठन सुदृढीकरण र स्थानीय तहको निर्वाचनको कार्य योजनाबारे छलफल हुनेछ ।
भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘वर्तमान परिप्रेक्ष्यमा पार्टीको राजनीतिक मार्गदर्शन’ विषयमा प्रस्तुति दिनेछन् । वरिष्ठ नेता विद्यादेवी भण्डारीले पनि मन्तव्य राख्ने कार्यक्रम रहेको थापाले जानकारी दिए ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले गरेका कामको समीक्षा प्रस्तुत गर्नेछन् भने महासचिव शंकर पोखरेलले पार्टी सुदृढीकरण र स्थानीय तहको निर्वाचन कार्य योजनाबारे छलफल अघि बढाउनेछन् ।
स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन अपनाउनुपर्ने रणनीतिबारे सहभागीबाट सुझावसमेत संकलन गरिनेछ । त्यसका लागि विशेष फाराम वितरण गरी लिखित सुझाव लिने व्यवस्था मिलाइएको थापाले बताए ।
भेलामा केन्द्रीय कमिटी तथा केन्द्रीय निकायका सदस्य, संघीय र प्रदेशसभा सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, स्थानीय तहका पार्टी कमिटीका अध्यक्ष र उपाध्यक्ष तथा निर्वाचित मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् ।
त्यसैगरी प्रवास, सम्पर्क तथा उपत्यका विशेष प्रदेश कमिटी र विभिन्न जनसंगठनबाट पनि तोकिएको संख्यामा प्रतिनिधित्व रहने जनाइएको छ ।

























