
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेताहरूको स्वागतका नाममा विमानस्थलमा हुने भिडभाड, खादा र मालाको प्रदर्शनजस्ता अभ्यास अन्त्य गर्नुपर्ने बताएका छन् । पार्टीको कार्यशैली बदल्नुपर्नेमा जोड दिँदै उनले नेताहरूलाई जनतासँग सहजै भेटघाट र संवाद गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।
थापाले नेताहरूको आगमनमा कार्यकर्ताहरू लामबद्ध भएर स्वागत गर्ने र तामझामसहित गाडीमा चढाएर लैजाने प्रवृत्तिले जनतामा गलत सन्देश जाने उल्लेख गरे । यस्तो अभ्यास परिवर्तन गर्न आफूले निर्देशिका बनाएर पठाएको जानकारी दिँदै उनले मुख्यमन्त्रीहरूलाई समेत यसलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् ।
‘साना साना कुरा हुन्, तर यसलाई बदल्नुपर्ने छ हामीले,’ थापाले भने । उनका अनुसार पार्टीका नेता जनताबाट टाढा रहने होइन, सर्वसाधारणले सहजै भेट्न, आफ्ना समस्या राख्न र नेताका कुरा सुन्न पाउने अवस्थामा हुनुपर्छ ।
नेताहरूलाई भेट्न कठिन हुने र सर्वसाधारणसँगको दूरी बढ्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले जनताका कुरा सुन्ने र उनीहरूसँग प्रत्यक्ष संवाद गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।
‘हामीलाई वातावरणमा मान्छेले भेट्न पाउनुपर्यो, हेर्न पाउनुपर्यो, सुन्न पाउनुपर्यो। हामीले पनि उनीहरूको कुरा सुन्नुपर्यो,’ थापाले भने ।
सभापति थापाले कांग्रेसभित्र काम गर्ने शैली, सोच्ने तरिका र नेताहरूको व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको बताए । पार्टीले परिवर्तनको कुरा भाषणमा मात्रै सीमित नराखी नेताहरूको दैनिक व्यवहारबाटै जनतालाई त्यसको अनुभूति गराउनुपर्ने उनको भनाइ छ ।
आफ्नो चारवर्षे कार्यकाललाई नयाँ अध्यायको सुरुआतका रूपमा व्याख्या गर्दै थापाले पार्टीलाई इमानदारीपूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कांग्रेसको नेतृत्व गर्नु पार्टी सञ्चालनमा मात्र सीमित नभई नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समेत अगाडि बढाउने महत्त्वपूर्ण जिम्मेवारी भएको उनले उल्लेख गरे ।

























