
धनुषा । दसैँको टीकाका दिनदेखि बेपत्ता भएका धनुषाको नगराइन नगरपालिका निवासी सात वर्षीय बालक साकेत झा मृत फेला परेका छन्।
नगराइन नगरपालिका–७ देवडिहास्थित आफ्नो घरबाट करिब साढे दुई किलोमिटर उत्तरतर्फ रहेको धान खेतमा शनिबार बालकको शव फेला परेको हो। स्थानीयवासीले खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार बालक गत कात्तिक ४ गते दसैँको टीकाका दिनदेखि सम्पर्कविहीन भएका थिए। लामो समयसम्म घर नफर्किएपछि परिवारले उनको खोजीका लागि प्रहरीलाई गुहारेका थिए।
बालक बेपत्ता भएपछि प्रहरीले आसपासका गाउँ, पोखरी तथा झाडीमा खोजी तीव्र पारेको थियो। खोजीका क्रममा शनिबार उनको शव धान खेतमा फेला परेको प्रहरीले जनाएको छ।
बालकको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















