
जनकपुरधाम । गत वर्ष जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका लागुऔषध मुद्दाका एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१४ का ३८ वर्षीय झरेन्द्र ज्यू ठकुरी छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालले ठकुरी लागुऔषध खैरो हेरोइन १ सय ५८ ग्राम ८ सय मिलिग्रामसहित पक्राउ परेको मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएका कैदी हुन् ।
उनका अनुसार अदालतको फैसलापछि उनी काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए । तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर फरार भएको प्रहरीले जनाएको छ।
ठकुरीलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय सिरहामा दाखिला गरिएको प्रहरीले जनाएको छ।

























