
काठमाडौं । लगातारको वर्षाका कारण खहरे खोलामा आएको बाढीले ढुंगामाटोसहितको लेदो सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ६ बजे जारी गरेको सूचनाअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं. ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरे खोलाबाट ढुंगामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ।
ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोलाको जलसतह बढेपछि खोला कोरिडोरको सडकमा आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसैगरी, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण सडकमा लेदो र पहिरो खस्ने जोखिम रहेकाले यात्रुलाई यात्रा गर्दा सतर्कता अपनाउन तथा सम्बन्धित निकायको सूचनाअनुसार आवागमन गर्न आग्रह गरिएको छ।

























