
काठमाडौं । वैदेशिक रोजगारीको बहानामा ७० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका-६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका-९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिन्छु भन्दै ४० लाख रुपैयाँ र रसाइलीले क्यानडा पठाइदिन्छु भन्दै ३० लाख रुपैयाँ लिएका थिए। रकम बुझेपछि उनीहरू सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























