
विराटनगर । मोरङको जहदाबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
मोरङको जहदा गाउँपालिका–२ का १९ वर्षीय प्रवेशकुमार राजवंशीलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार आइतबार दिउँसो जहदा गाउँपालिका–१ स्थित भुटाहा चोकबाट बुधनगरतर्फ पैदल जाँदै गरेका राजवंशीलाई शंका लागी चेकजाँच गर्दा ४७ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा थप ५३ ग्राम ४९० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको कुल तौल एक सय ग्राम ८०० मिलिग्राम रहेको छ ।
पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















