
सुनसरी । भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनाले शरीरका गोप्य अंगमा लुकाएर ल्याएको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) प्रहरीले बरामद गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले उनीहरूलाई ११ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । सोमबार साँझ करिब ५ः३० बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही र कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहित खटिएको संयुक्त टोलीले भारतबाट पैदल आउँदै गरेका दुई जनालाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।
प्रहरीले खानतलासी गर्दा पाँचथरको याङवरक गाउँपालिका–१ की २१ वर्षीया निस्मा राईले गोप्य अंगभित्र लुकाएर ल्याएको ११ ग्राम १३० मिलिग्राम र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ३१ वर्षीय बद्री स्याङ्वो तामाङले मलद्वारमा लुकाएको ६६० मिलिग्राम ब्राउन सुगर फेला पारेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार बरामद लागुऔषधसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

























