ठेक्काको कागजात नै फेरबदल गर्ने तीन जना प्रहरी नियन्त्रणमा

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १७, मंगलबार ०७:२०
पाँचथरका दुई जना ब्राउन सुगरसहित काठमाडौंमा पक्राउ

काठमाडौं । सरकारी ठेक्का प्रक्रियामा अनियमितता गर्ने उद्देश्यले सार्वजनिक खरिद प्रणालीमै छेडछाड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–सरकारी खरिद प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्कासम्बन्धी विवरण र कागजात परिवर्तन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकाहरूले ठेक्काको आर्थिक प्रस्ताव खोलिनुअघि नै प्रस्तावसँग सम्बन्धित कागजात हेरफेर गरेका थिए ।

यसरी ठेक्का प्रक्रियामा प्रयोग हुने संवेदनशील विवरणमै अनधिकृत पहुँच पुर्‍याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले ब्यूरोमा परेको निवेदनका आधारमा प्राविधिक अनुसन्धान गर्दा उनीहरूको संलग्नता देखिएको बताए ।

अनुसन्धानबाट संलग्नता पुष्टि हुने आधार भेटिएपछि जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।

अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता अवस्थीले बताए । प्रहरीले पक्राउ परेकाहरूको नाम र परिचय भने सार्वजनिक गरेको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.