
काठमाडौं । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेलको आरोप सार्वजनिक भएपछि नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ ।
विवाद बढिरहेका बेला सभापति गगनकुमार थापा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संवादमा जुटेका छन् । थापा मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर उनीसँग भेटवार्ता गरेका हुन् ।
करिब एक घण्टा चलेको भेटमा मधेश प्रदेशको सत्ता समीकरण, पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको बताइएको छ । कांग्रेसको मिडिया सेन्टरले समेत भेटमा मुख्यतः मधेश प्रदेश सरकारको विषयमा कुराकानी भएको पुष्टि गरेको छ । मधेशमा अहिले कांग्रेसको नेतृत्वमा सरकार रहेको छ ।
तर, यो भेट यस्तो समयमा भएको छ, जतिबेला कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट पार्टी सभापति बनेका थापाको वैधानिकतामाथि प्रश्न उठाउने विषयले फेरि चर्चा पाएको छ । प्रहरी हिरासतमा रहेका इनम सापकोटाले दिएको भनिएको बयानमा विशेष महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमितिले पार्टीको आधिकारिकता प्राप्त गर्दा आर्थिक लेनदेन भएको विषय उल्लेख भएको समाचार सार्वजनिक भएपछि कांग्रेसभित्र विवाद चर्किएको हो । यद्यपि, थापाको सचिवालयले उक्त आरोपको खण्डन गर्दै समाचारलाई निराधार र भ्रम फैलाउने उद्देश्यबाट प्रेरित भनेको छ ।
सापकोटाको बयानमा आएको भनिएको विषयलाई लिएर कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंगलबार पत्रकार सम्मेलन गर्दै निष्पक्ष छानबिनको माग गरेको छ । नेता प्रकाशशरण महतले विशेष महाधिवेशनको प्रक्रिया र पार्टीको आधिकारिकतासम्बन्धी विषयमा सार्वजनिक भइरहेका तथ्यको गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् ।
उनले प्रहरी सोधपुछका क्रममा भनिएका विषय गम्भीर भएकाले छानबिनबाट सत्यतथ्य बाहिर ल्याउनुपर्ने धारणा राखेका छन् । विशेष महाधिवेशन विधि र प्रक्रिया मिचेर गरिएको आफ्नो समूहको पुरानै दाबीलाई समेत देउवा पक्षले पुनः उठाएको छ ।
यता, सभापति थापाको सचिवालयले भने सरकारका कमजोरीबाट जनताको ध्यान अन्यत्र मोड्न प्रतिपक्षी दललाई लक्षित गरेर भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाएको छ । बिचौलियासँग सम्बन्धित सबै प्रकरणमा गहिरो, निष्पक्ष र प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने उसको माग छ ।
थापाले सामाजिक सञ्जालमार्फत आफूलाई तर्साउने प्रयास भइरहेको भए पनि नडराउने प्रतिक्रिया दिएका छन् । कांग्रेस नेता देवराज चालिसेले पनि पार्टीको वैधानिकता र निर्णय प्रक्रियामाथि प्रश्न उठाइएकोमा आपत्ति जनाउँदै पार्टीका निर्णय लाखौँ सदस्यको सहभागिता र विधानसम्मत प्रक्रियाबाट भएको बताएका छन् ।
यसअघि सोमबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेलाई पनि यस विषयमा पत्रकारले प्रश्न गरेका थिए । उनले निष्पक्ष छानबिन हुनुपर्ने र त्यसका लागि कांग्रेस तयार रहेको बताएका थिए ।
यही राजनीतिक विवाद र आरोप–प्रत्यारोपबीच थापाले एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । विशेष महाधिवेशनपछि पहिलोपटक भएको भेटमा मधेश प्रदेशको सत्ता समीकरणसँगै सोमबार विपक्षी दलहरूको बैठकमा उठेका विषय र सरकारविरुद्ध सदन तथा सडकमा संयुक्त रूपमा प्रस्तुत हुने सम्भावनाबारे पनि छलफल भएको बताइएको छ ।
कांग्रेसभित्रको आन्तरिक विवाद र विपक्षी दलहरूबीचको राजनीतिक सहकार्यको सम्भावना एकै समयमा चर्चामा आएका बेला भएको थापा–ओली भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

























