
एजेन्सी । युक्रेनमा रुसले गरेको भीषण हवाई आक्रमणमा सर्वसाधारण नागरिकले आश्रय लिइरहेको विद्यालय भवन ध्वस्त भएको छ ।
दक्षिणपूर्वी जापोरिजिया क्षेत्रको कोमिशुभाखा नगरमा रहेको उक्त भवनमा नौवटासम्म शक्तिशाली बम प्रहार हुँदा कम्तीमा ३३ जनाको ज्यान गएको छ भने ५० जना बेपत्ता भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणका बेला विद्यालय भवनमा स्थानीय बासिन्दाहरू मानवीय सहायता लिन भेला भएका थिए । युद्धका कारण पठनपाठन बन्द भएपछि विद्यालयलाई प्रशासनिक कार्यालय तथा राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिँदै आएको थियो ।
भवनको भूमिगत भागमा सर्वसाधारणलाई सुरक्षित राख्न युरोपेली संघको आर्थिक सहयोगमा आश्रयस्थलसमेत निर्माण गरिएको थियो । गत वर्ष बनाइएको उक्त संरचना हवाई आक्रमणबाट जोगिने गरी बलियो बनाइएको भए पनि शक्तिशाली बम प्रहारपछि कंक्रिट संरचना भत्किएको र आगलागी भएको स्थानीय गभर्नर मिखाइलो सेमिकिनले बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई रुस–युक्रेन युद्धका सबैभन्दा घातक आक्रमणमध्ये एक भएको टिप्पणी गरेका छन् । उनले सर्वसाधारणको सुरक्षाका लागि बनाइएको संरचनामै आक्रमण हुनु अत्यन्तै गम्भीर घटना भएको बताए ।
आक्रमणपछि उद्धारका लागि पुगेका सुरक्षाकर्मीसमेत रुसी हमलाको निशानामा परेका छन् । पहिलो बम प्रहारपछि उद्धारमा खटिएका दुई उद्धारकर्मी र चार प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । उनीहरू भूमिगत आश्रयस्थलमा रहेका नागरिकलाई सुरक्षित स्थानमा निकाल्ने प्रयासमा थिए ।
युक्रेनी प्रहरीका अनुसार पहिलो आक्रमणबाट प्रभावितलाई उद्धार गर्न पुगेका तथा भवनबाट बाहिर निस्कने प्रयास गरिरहेका मानिसहरू दोस्रो आक्रमणमा परेका थिए । स्थानीय प्रशासनले रुसी सेनाले आक्रमणमा केएबी–५०० र एफएबी–३००० प्रकारका शक्तिशाली बम प्रयोग गरेको जनाएको छ ।
घटनाबारे संयुक्त राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले पनि गम्भीर चासो व्यक्त गरेको छ । मिसनका अनुसार उक्त स्थानमा मानवीय सहायता वितरण भइरहेको र त्यहाँ सर्वसाधारणको उपस्थिति रहेको जानकारी पहिल्यै दिइएको थियो ।
मिसन प्रमुख ड्यानियल बेलले रुसी सेनालाई उक्त गतिविधिबारे जानकारी हुँदाहुँदै आक्रमण गरिएको वा आक्रमणअघि नागरिकको सुरक्षाका लागि आवश्यक सावधानी नअपनाइएको हुन सक्ने बताएकी छन् । उनले घटनाले अन्तर्राष्ट्रिय मानवीय कानुनका आधारभूत सिद्धान्त उल्लंघन भएको देखाउने बताइन् ।
विद्यालयमा आक्रमण भएको केही समयपछि रुसले युक्रेनका ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाएको जेलेन्स्कीले बताएका छन् । उनका अनुसार विभिन्न क्षेत्रमा सयौँ ड्रोन तथा दर्जनौँ क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएका थिए ।
युक्रेनका ऊर्जा मन्त्री डेनिस श्मिहालले तीनवटा ड्रोन खमेल्नित्स्की आणविक विद्युत् केन्द्र सञ्चालनका लागि महत्त्वपूर्ण मानिएको विद्युत् सबस्टेसनतर्फ लक्षित गरिएको जानकारी दिएका छन् । उनका अनुसार यस्ता आक्रमणले युक्रेनमा मात्र नभई समग्र युरोपको आणविक सुरक्षामा जोखिम निम्त्याउन सक्छ । यसबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई समेत जानकारी गराइएको छ ।
जेलेन्स्कीले ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न अमेरिकाले रुसलाई आग्रह गरिरहेको अवस्थामा पनि हमला नरोकिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले रुसी हवाई आक्रमण रोक्न र युक्रेनको प्रतिरक्षा प्रणाली सुदृढ बनाउन अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिकासँग थप सहयोगको अपिल गरेका छन् ।

























