विराट एक्स्पो पुस २ देखि, २ लाख बढी दर्शक भित्र्याउने 

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १३:४५
विराट एक्स्पो पुस २ देखि, २ लाख बढी दर्शक भित्र्याउने 

विराटनगर । उद्योग, व्यापार, लगानी, सीप र रोजगारीका अवसरलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित ‘नवौँ विराट एक्स्पो २०२६’ आगामी पुस २ देखि विराटनगरमा आयोजना हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा पुस ११ गतेसम्म सञ्चालन हुने एक्स्पोमा २७५ भन्दा बढी स्टल रहनेछन् ।

उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी, उद्देश्य र कार्यक्रमबारे जानकारी दिएको हो । संगठनका अध्यक्ष नन्दकिशोर राठीले प्रत्येक संस्करणलाई नयाँ अवधारणा र फरक स्वरूपमा आयोजना गर्दै आएको बताउँदै यसपटक एक्स्पोलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी अवसर, सम्भावना र सहकार्यको साझा मञ्चका रूपमा विकास गर्न खोजिएको बताए ।

यसपटक एक्स्पोको मूल नारा ‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ अर्थात् अवसरहरूको पारिस्थितिक प्रणाली राखिएको छ । अध्यक्ष राठीका अनुसार एक्स्पोको मुख्य उद्देश्य सामानको खरिद–बिक्रीभन्दा पनि उद्योगी, व्यवसायी, विद्यार्थी, किसान, युवा तथा लगानीकर्तालाई एउटै स्थानमा जोडेर ज्ञान, सीप, प्रविधि, लगानी र बजारका सम्भावनाबारे जानकारी आदानप्रदान गर्ने वातावरण निर्माण गर्नु हो ।

‘उद्योगलाई आज बजार मात्रै चाहिएको छैन, दक्ष जनशक्ति, स्टार्टअपलाई लगानी, युवालाई अवसर, विद्यार्थीलाई करियरको मार्ग र लगानीकर्तालाई सम्भावना चाहिएको छ,’ अध्यक्ष राठीले भने, ‘त्यसैले एक्स्पोलाई यी सबै पक्ष जोड्ने साझा थलोका रूपमा विकास गर्न खोजेका छौं ।’

एक्स्पोमा १० वटा अवसर क्षेत्र र छवटा एकीकृत प्लेटफर्ममार्फत विभिन्न गतिविधि सञ्चालन गरिने एक्स्पोका संयोजक विपिन काबराले जानकारी दिए । विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, स्थानीय उद्योगको जानकारी, रोजगारी र सीप विकासका अवसरसँग जोड्ने उद्देश्यले ‘लर्न फर द फ्युचर’ कार्यक्रम सञ्चालन हुनेछ। यसअन्तर्गत औद्योगिक स्वचालन, फेसन डिजाइन, कृषि, आतिथ्य सेवा, सौन्दर्य तथा वेलनेस र स्वास्थ्यलगायत आठ क्षेत्रमा सीप तथा तालिमसम्बन्धी विशेष कार्यक्रम राखिनेछ।

त्यस्तै, नयाँ सोच, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘स्टार्टअप एन्ड इन्टरप्रेनरसिप प्याभिलियन’ सञ्चालन गरिनेछ । यसमा मेकर स्पेस, डिजाइन थिंकिङ, बुट क्याम्प तथा नयाँ र वृद्धि उन्मुख उद्यमहरूको प्रदर्शनी रहनेछ । उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण, लजिस्टिक्स र बजार पहुँचसम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘बिजनेस डेभलपमेन्ट सर्भिसेज कनेक्ट’ प्लेटफर्मसमेत रहनेछ ।

एक्स्पोको अर्को मुख्य आकर्षण ‘विराट बिजनेस समिट २०२६–अपरच्युनिटी कनेक्ट’ हुनेछ । तीन दिनसम्म सञ्चालन हुने समिटमा देशभरका उद्योगी, व्यवसायी, लगानीकर्ता, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् । समिटमा ‘इन्भेस्ट एन्ड बिल्ड’, ‘कनेक्ट एन्ड एक्सपान्ड’ तथा ‘इन्फ्लुएन्स एन्ड ग्रो’ विषयमा छलफल तथा व्यावसायिक अन्तरक्रिया गरिने संयोजक काबराले बताए ।

समिटमा कोशी प्रदेशका १४ वटै जिल्लाका उद्योग वाणिज्य संघका प्रतिनिधिले आ–आफ्नो क्षेत्रको आर्थिक तथा व्यावसायिक सम्भावना प्रस्तुत गर्नेछन् । नेपाल–भारत तथा नेपाल–बंगलादेश बिजनेस फोरम, बीटुबी मिटिङ, विषयगत प्लेनरी संवाद र जिल्लागत अवसर प्रस्तुतीकरणसमेत आयोजना गरिनेछ ।

यसपटक ‘अपरच्युनिटी वाल’ पनि एक्स्पोको विशेष आकर्षणका रूपमा रहनेछ। यसमा जिल्ला गत तथा स्थानीय सरकारका लगानीका सम्भावना, स्थानीय उत्पादन, पूर्वाधार, उद्योग व्यवसायका लागि आवश्यक कच्चा पदार्थ, प्रविधि, बजार र साझेदारीका अवसरबारे जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा उद्योग, कर्पोरेट, कृषि, साना तथा घरेलु उद्योग, अटोमोबाइल, खाना तथा तालिम प्रदायक संस्थाका गरी २७५ भन्दा बढी स्टल रहनेछन् । कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला तथा साना उद्यमीका उत्पादनसँगै सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा उत्पादित वस्तुलाई विशेष प्राथमिकता दिइनेछ। साँझपख राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुतिसमेत रहनेछन् ।

आयोजकका अनुसार एक्स्पो अवधिभर करिब २ लाख ५० हजारभन्दा अवलोकनकर्ता भित्र्याउने, ३ सयभन्दा बढी कम्पनीको सहभागिता गराउने र २५ हजार विद्यार्थीलाई सहभागी गराउने लक्ष्य राखिएको छ । त्यस्तै, १ हजार ५ सयभन्दा बढी व्यावसायिक सम्पर्क निर्माण गर्ने, २ हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने तथा लगानीयोग्य २० वटा स्टार्टअप प्रस्तुत गर्ने तयारी गरिएको छ।

यसपटकको विराट एक्स्पो केवल वस्तु तथा सेवाको प्रदर्शनी नभई लगानी, रोजगारी, उद्यमशीलता, सीप र व्यावसायिक साझेदारी विस्तारको साझा मञ्चका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
कानुनको शासन नै सुशासनको आधारः राष्ट्रपति पौडेल
स्थानीय तह र प्रदेशबाटै सामूहिक स्वास्थ्य बीमा
बर्खास्तीको निर्णयविरुद्ध कानुनी उपचार खोज्दै दानबहादुर कार्की
नेपाल प्रहरीको आईजीपी : कार्की जिम्मेवारीमुक्त, केसी नियुक्त
महँगी र इरान युद्धको मूल्य चुकाउँदै ट्रम्प, अमेरिकी राजनीतिमा डेमोक्र्याटको पुनरागमन
बजारमा भारतीय फूलको रजगज, स्वदेशी किसानको लगानी जोखिममा
विराट एक्स्पो पुस २ देखि, २ लाख बढी दर्शक भित्र्याउने 
विराट एक्स्पो पुस २ देखि, २ लाख बढी दर्शक भित्र्याउने 
झापाको बिर्तामोडमा घर र गोदाममा आगलागी
‘सिक्किम आइडल’मा अब नेपालका नेपालीभाषी प्रतिभाले पनि प्रतिस्पर्धा गर्न पाउने
झापाको गौरीगञ्जबाट ७० किलो सडेको माछा बरामद
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.