झापाको गौरीगञ्जबाट ७० किलो सडेको माछा बरामद

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १८, बुधबार १२:२८

झापा । गौरीगञ्ज गाउँपालिका–१ बाट प्रहरीले ७० किलो सडेको माछा बरामद गरेको छ । भारतबाट भित्र्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिले र प्रहरी चौकी कुञ्जीबारीको संयुक्त टोलीले माछा बरामद गरेको हो ।

प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार भारतबाट सडेको माछा नेपाल भित्र्याइँदै गरेको जानकारी पाएपछि प्रहरी चौकी कुञ्जीबारीको टोली घटनास्थल पुगेको थियो । बरामद माछा रोहु प्रजातिको रहेको जनाइएको छ । बरामद माछाबाट दुर्गन्ध फैलिएको, चोट लागेको जस्तो देखिएको र माछा चिप्लो भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद माछा इलाका प्रहरी कार्यालय झिलझिले परिसरमा खाडल खनेर पुरेको छ । गौरीगञ्ज गाउँपालिकाद्द८ का अध्यक्ष सन्तकुमार फेउदिन र पत्रकारको उपस्थितिमा माछा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

सडेको माछा खुला ठाउँमा फाल्दा दुर्गन्ध फैलिनुका साथै झिँगा, कीरा तथा अन्य जीवाणुको जोखिम बढ्न सक्ने भएकाले मानव स्वास्थ्य र वातावरणमा थप असर नपरोस् भन्ने उद्देश्यले माछा नष्ट गरिएको प्रहरी निरीक्षक पराजुलीले जानकारी दिए ।

भारतबाट नेपालमा माछा आयात हुने गरेको छ । तर, माछा ढुवानीका क्रममा उचित तापक्रम कायम नगर्दा, लामो समयसम्म भण्डारण गर्दा वा बजारमा बिक्री हुन नसकेका माछा अवैध रूपमा नेपाल भित्र्याउँदा उपभोक्ताको स्वास्थ्य जोखिम मा पर्ने गरेको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए ।

सडेको माछा सस्तो मूल्यमा बिक्री गर्ने उद्देश्यले नेपाल भित्र्याइएको हो वा अन्य कारणले यस्तो भएको हो भन्ने विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।

पर्वलाई लक्षित गरी बजारमा माछामासु तथा खाद्यान्नको खपत बढ्ने भएकाले प्रहरीले खाद्य वस्तुको नियमित अनुगमन गरिरहेको जनाएको छ । उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने सडेगलेका तथा गुणस्तरहीन खाद्य वस्तुको बिक्री वितरण रोक्न प्रहरी सक्रिय भएको हो ।

प्रहरी निरीक्षक पराजुलीले सर्वसाधारणलाई दुर्गन्ध आउने, सडेको वा शंकास्पद माछामासु तथा खाद्यान्न खरिद र उपभोग नगर्न आग्रह गरेका छन् । त्यस्ता वस्तु बिक्री वितरण भइरहेको जानकारी पाए तत्काल प्रहरीलाई खबर गर्न पनि उनले अनुरोध गरेका छन् ।‍

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.