
उदयपुर । जिल्ला भूमि समस्या समाधान समितिले त्रियुगा नगरपालिका–५ का २७ भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । पुर्जा पाउनेमा २२ भूमिहीन दलित र पाँच भूमिहीन सुकुम्बासी परिवार छन् ।
लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका स्थानीयले पुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन् । समितिका अनुसार ती परिवार करिब २० वर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएका थिए ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गरी उनीहरूलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने सरकारी लक्ष्यअनुसार पुर्जा वितरणलाई अघि बढाइएको समितिले जनाएको छ ।

























