
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ शुक्रबारदेखि सुरु हुने भएको छ ।
प्रस्तावित न्यायाधीशहरूमाथि कुल २८ वटा उजुरी परेका छन् । तीमध्ये पाँच जना उजुरीकर्ताले भने चारै जनाको नियुक्तिविरुद्ध उजुरी दिएका छन् ।
संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ कार्यतालिका स्वीकृत गरेको हो । सिंहदरबारमा बसेको बैठकले शुक्रबार र शनिबार सुनुवाइ गर्ने निर्णय गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
निर्धारित कार्यतालिकाअनुसार शुक्रबार उजुरीकर्तासँग छलफल गरिनेछ । त्यसपछि प्रस्तावित न्यायाधीश डा। रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको सुनुवाइ हुनेछ । शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको सुनुवाइ गर्ने तयारी छ ।
समितिका अनुसार बागचन्दविरुद्ध पाँच, सारूविरुद्ध छ, पाण्डेविरुद्ध १० र डाँगीविरुद्ध सातवटा उजुरी परेका छन् । सबैभन्दा बढी उजुरी पाण्डेविरुद्ध परेको छ । चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध पाँच जनाले छुट्टाछुट्टै उजुरी दिएको सभापति श्रेष्ठले बताए ।
बैठकमा उजुरीहरूको अध्ययनका लागि समिति सदस्यहरूलाई सम्बन्धित कागजातसमेत उपलब्ध गराइएको छ । उजुरीमा उठाइएका विषय र प्रस्तावित न्यायाधीशहरूको जवाफका आधारमा समितिले सुनुवाइ प्रक्रिया अघि बढाउनेछ ।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि उनीहरूको नियुक्तिको बाटो खुल्नेछ ।

























