राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १९, बिहीबार १७:४७

विराटनगर । रात्रिकालीन व्यवसाय सञ्चालनको समयसीमा बढाउन विराटनगरका होटल, रेस्टुरेन्ट तथा बार सञ्चालकले माग गरेका छन् । प्रशासनले राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने व्यवस्था लागू गरेपछि व्यापार प्रभावित भएको भन्दै उनीहरूले राति १२ बजेसम्म सञ्चालनको अनुमति दिन माग गरेका हुन् ।

व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय मोरङले निर्धारण गरेको समयसीमा अव्यावहारिक भएको जनाउँदै विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रशासनको व्यवस्थाअनुसार होटल, रेस्टुरेन्ट, गजल, स्पा, क्लब तथा लाउन्जले राति १० बजेभित्र गेट बन्द गर्नुपर्ने र १०ः३० बजेसम्म ग्राहकलाई बिदा गरिसक्नुपर्ने हुन्छ ।

व्यवसायीहरूले विशेषगरी चाडपर्व र व्यापारिक चहलपहल बढ्ने समयमा यस्तो प्रतिबन्धले व्यवसायमा ठूलो असर पार्ने बताएका छन् । उनीहरूले प्रहरीको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् ।

गत कात्तिक १७ गते राति विराटनगर महानगरपालिका–३ स्थित फिल गुड एण्ड ग्रील प्रालिमा प्रहरीले गरेको हस्तक्षेपलाई व्यवसायीहरूले अनावश्यक धरपकडको संज्ञा दिएका छन् । महानगरपालिका र प्रशासनबीच निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न दिने समझदारी रहे पनि प्रहरीले राति ११ः३० बजे बिनासूचना प्रवेश गरी सञ्चालक निर्जलकुमार श्रेष्ठसहित दुई कर्मचारीलाई पक्राउ गरेर रातभर थुनामा राखेको उनीहरूको आरोप छ ।

तोकिएको समयसीमाभन्दा अगाडि नै प्रहरीले हस्तक्षेप गर्ने र व्यवसायीलाई पक्राउ गर्ने गतिविधिले लगानीकर्तामा असुरक्षा बढाएको व्यवसायीहरूको भनाइ छ । साझा पहल समूहका संयोजक वसन्त अधिकारीसहितका व्यवसायीले रात्रिकालीन व्यवसायलाई व्यवस्थित र सुरक्षित रूपमा सञ्चालन गर्ने वातावरण बनाउन महानगरपालिकासँग आग्रह गरेका छन् ।

उनीहरूले व्यवसायीलाई त्रसित बनाउने नभई नियमन र सहजीकरणमार्फत समस्या समाधान गर्नुपर्ने बताएका छन् । ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख कार्कीले व्यवसायीका समस्या र मागप्रति ध्यानाकर्षण भएको बताइन् । उनले सम्बन्धित निकायसँग छलफल गरेर उचित निकास खोज्ने प्रतिबद्धता जनाएकी छन् ।

तपाइको प्रतिक्रिया
उदयपुरमा २७ भूमिहीन परिवारले पाए जग्गाधनी पुर्जा
चाडपर्वमा सुरक्षा चुनौती रोक्न प्रहरीको विशेष रणनीति, ५० हजार सुरक्षाकर्मी सडकमा
राति १० बजे नै व्यवसाय बन्द गर्नुपर्ने नियमप्रति विराटनगरका व्यवसायी असन्तुष्ट
कार्की सर्वोच्चमा, रिट रोकियो
सर्वोच्चका चार न्यायाधीशको सुनुवाइ हुँदै, पाँच उजुरीकर्ताले सबैलाई लगाए प्रश्न
सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की
धनकुटा प्रहरीले तमोर किनारमा नष्ट गर्‍यो डेढ टनभन्दा बढी गाँजा
बालसंसारका विद्यार्थीले देउसी–भैलोमार्फत झल्काए मौलिक संस्कृति
शान्ति–सुरक्षा चुस्त बनाउन प्रधानमन्त्री शाहको निर्देशन
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावमा बारको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.