
काठमाडौं । कुनै समय आकर्षक र सम्मानित पेसाका रूपमा चिनिने शिक्षणप्रति युवा पुस्ताको रुचि घट्दै गएको तथ्यांकले देखाएको छ ।
शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा सहभागी हुने उम्मेदवारको संख्या पछिल्ला वर्षमा निरन्तर घट्नुले विद्यालय शिक्षणप्रति युवाको आकर्षण कमजोर बन्दै गएको संकेत गरेको छ । शिक्षक सेवा आयोगको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७–७८ मा निम्न माध्यमिक तहको लाइसेन्सका लागि २ लाख ६ हजार ६८० जनाले आवेदन दिएकोमा २०८०–८१ मा आइपुग्दा यो संख्या घटेर १ लाख ९ हजार ८२ मा सीमित भएको छ ।
यस अवधिमा आवेदन दिने संख्या झन्डै आधाले घटेको हो । २०७८–७९ मा १ लाख ७९ हजार ४९० र २०७९–८० मा १ लाख १९ हजार ३११ जनाले आवेदन दिएका थिए ।
माध्यमिक तहमा पनि उस्तै अवस्था छ । २०७७–७८ मा ६७ हजार ९२६ जनाले आवेदन दिएकोमा २०८०–८१ मा ४३ हजार ३२३ जनामा झरेको छ । निम्न माध्यमिक तहमा उत्तीर्ण हुनेको संख्या क्रमशः ३१ हजार ५५८, १३ हजार ७, १० हजार ९७४ र ३५ हजार २६८ रहेको छ । माध्यमिक तहमा सोही अवधिमा क्रमशः २३ हजार १२, २३ हजार ३६६, १२ हजार ७२९ र २४ हजार ५८१ जना उत्तीर्ण भएका थिए ।
शिक्षण पेसाप्रतिको मोह घट्नु र श्रमबजारमा अन्य आकर्षक तथा सुविधायुक्त अवसर बढ्नुले यस्तो अवस्था आएको आयोगको वार्षिक प्रतिवेदनले औंल्याएको छ ।
यसैबीच, आर्थिक वर्ष २०८२–८३ को माध्यमिक तहको सामान्य परीक्षाको नतिजाले पनि शिक्षक जनशक्तिको गुणस्तरमाथि प्रश्न उठाएको छ । परीक्षामा सहभागी ३८ हजार १२४ जनामध्ये ११ हजार २३६ जना अर्थात् २९.४७ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । बाँकी २६ हजार ८८८ जना अनुत्तीर्ण भएका छन् ।
प्रदेशगत रूपमा मधेश सबैभन्दा कमजोर देखिएको छ । त्यहाँ उत्तीर्णदर २२.१९ प्रतिशत मात्रै छ । सबैभन्दा राम्रो नतिजा आएको गण्डकीमा पनि उत्तीर्णदर ३३.९३ प्रतिशतमा सीमित छ । कोशीबाट ९ हजार १४७ र सुदूरपश्चिमबाट २ हजार ३५१ जना परीक्षामा सहभागी भएका थिए । बागमतीमा ४ हजार ६०२ मध्ये १ हजार ७६६ जना मात्रै उत्तीर्ण भए ।
युवाको घट्दो आकर्षण र परीक्षामा देखिएको कमजोर सफलताले विद्यालयका लागि योग्य शिक्षक उपलब्ध गराउने विषयलाई दीर्घकालीन चुनौतीका रूपमा उभ्याएको छ ।

























