झापाका मौरीपालक किसानलाई रोग र विषादीको मार

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार ०८:४९

झापा । मौरीपालनबाट राम्रो आम्दानीको सम्भावना भए पनि रोग संक्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको समस्याले किसान निरुत्साहित हुन थालेका छन् । लगानीअनुसार प्रतिफल नपाउँदा व्यावसायिक मौरीपालन सङ्कटमा परेको किसानको गुनासो छ ।

शिवसताक्षी उद्योग वाणिज्य सङ्घको समन्वयमा सङ्कल्प एग्रो टेक प्रालिले बिहीबारदेखि पाँचदिने सहकारी मौरीपालन तालिम तथा व्यवसाय प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । तालिममा शिवसताक्षी, कनकाई र अर्जुनधाराका २५ जना किसान सहभागी छन् ।

तालिममा सहभागी शिवसताक्षीकी देवीकुमारी दाहालले २०० घारबाट सुरु गरेको मौरीपालन व्यवसायमा रोग संक्रमणका कारण १५० घार गुमाएकी छन् । अहिले उनीसँग ५० घार मात्र बाँकी छन् । व्यवसाय टिकाउन सरकारले किसानमैत्री कार्यक्रम र आर्थिक सहयोग गर्नुपर्ने उनको माग छ ।

वार्षिक दुई हजार किलोग्रामसम्म मह उत्पादन गर्दै आएका किसान नन्दकुमार दंगालले विषादीको प्रयोगलाई मौरीपालनको प्रमुख चुनौती बताए । खेतबारीमा प्रयोग गरिने विषादीका कारण चरनमा गएका मौरी मर्ने र घारमा नफर्किने समस्या बढेको उनको भनाइ छ ।

कनकाईका भुवन अधिकारीले १०० घारबाट मौरीपालन गर्दै वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । उनले विषादी नियन्त्रणसँगै किसानलाई अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउन तीनै तहका सरकारसँग माग गरे ।

शिवसताक्षी नगरपालिकामा हाल करिब दुई हजार मौरीका घार सञ्चालनमा रहेको कृषि शाखाले जनाएको छ । शाखा प्रमुख रविन भट्टराईका अनुसार पाँच वर्षअघि नगरका करिब ५५ प्रतिशत किसानका घरमा मौरीका घार हुने गरेकामा अहिले मौरीपालनप्रतिको आकर्षण घटेको छ ।

यसैबीच, अर्जुनधाराका युवा सुवास चापागाईंले आफ्नो फलफूल बगानमा मौरीपालन गर्ने योजना बनाएका छन् । आँप, केरा र लिचीका बोटमा परागसेचनमा सहयोग पुग्ने भएकाले आफू यस व्यवसायप्रति आकर्षित भएको उनले बताए ।

कोशी प्रदेश सरकारको उदय परियोजनामार्फत किसानले उद्यम सञ्चालनका लागि आर्थिक तथा प्राविधिक सहयोग पाउन सक्ने मन्त्रालयका शाखा अधिकृत विमल बास्कोटाले जानकारी दिए । परियोजनाले उत्पादनको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा समेत सहयोग गर्ने जनाएको छ ।

तालिम आयोजक सङ्कल्प एग्रो टेक प्रालिका प्रबन्ध निर्देशक सुरेश रेग्मीले किसानलाई उत्पादनसँगै गुणस्तर, प्याकेजिङ र बजार व्यवस्थापनमा सहयोग गर्न सके मौरीपालनलाई थप व्यावसायिक र आम्दानीमूलक बनाउन सकिने बताए ।

किसानले मौरीपालनलाई दिगो बनाउन रोग नियन्त्रण, विषादीको व्यवस्थित प्रयोग, सरकारी प्रोत्साहन र उत्पादित महको उचित बजार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.