
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन जोडेको हो।
सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ४ चौका र एक छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्काको मद्दतमा २७ रन जोडे।
जैब र भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। तर, आठौँ ओभरमा भण्डारी र नवौँ ओभरमा जैब आउट भएपछि सुदूरपश्चिमको इनिङ्समा विकेट पतनको क्रम सुरु भएको थियो।
ब्रान्डन म्याकमुलेनले १६ बलमा २ चौका र एक छक्कासहित २४ रन बनाए भने इशान पाण्डेले १३ बलमा ३ छक्का प्रहार गर्दै २३ रनको योगदान दिए। कप्तान दीपेन्द्रसिंह ऐरी १० र आरिफ शेख ११ रन बनाएर पभेलियन फर्किए।
अन्तिमतिर थरिन्द्र रत्नायके र स्कट कुगेलेइनले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकासे। रत्नायकेले १२ बलमा ३ चौका र एक छक्कासहित अविजित २२ रन बनाए। कुगेलेइनले ६ बलमा २ चौका प्रहार गर्दै अविजित १३ रन जोडे।
सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा मात्रै ५७ रन थप्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।
कर्णाली याक्सका लागि मार्क वाटले सर्वाधिक २ विकेट लिए। नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक–एक विकेट हात पारे।

























