
काठमाडौं । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गर्यो ।
पहिलो खेलमा पराजित भएको काठमाडौंले लगातार दुई खेल जित्दै तीन खेलबाट चार अंक जोडेको छ । ऊ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेलेको विराटनगरको भने यो तेस्रो हार हो । समान चार अंक भए पनि रनरेटका आधारमा विराटनगर पाँचौँ स्थानमा झरेको छ ।
काठमाडौंका लागि डेभिड वार्नरले अविजित ४४ र विलियम बोसिस्टोले अविजित २३ रन बनाए । वार्नरले २४ बलमा दुई चौका र तीन छक्का प्रहार गरे भने बोसिस्टोले समान २४ बलमा तीन चौका हिर्काए । यी दुईले दोस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गरे । ओपनर साहिल पटेल १० रनमा आउट भए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा ८३ रनमा अलआउट भएको थियो । उसका लागि नवौँ नम्बरमा ब्याटिङ गरेका रुपेश सिंहले २७ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक २६ रन बनाए । एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन जोडे ।
शेहान जायसूर्या पाँच, लोकेश बम छ, आन्द्रे रसेल तीन र अपराजित पौडेल दुई रनमा आउट भए । इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खाता खोल्न सकेनन् । कप्तान सन्दीप लामिछाने तीन रनमा अविजित रहे । विराटनगरले ३५ रनमै सात विकेट गुमाएको थियो । त्यसपछि म्याथ्युज र रुपेशले आठौँ विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाले ।
काठमाडौंका सन्तोष यादवले तीन ओभरमा ११ रन खर्चेर तीन विकेट लिए । सहान अराचिगे र जहानदान खानले दुई–दुई तथा कप्तान करण केसी, शाहब आलम र देव शाहले एक–एक विकेट लिए ।



















