
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार (आज) को पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्ससामु १५० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए। त्यस्तै निरोशन डिकवेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१, रुबेन ट्रम्पलमनले १५ र शमिम हुसेनले १३ रन बनाए।
लुम्बिनीलाई मध्यम योगफलमा रोक्ने क्रममा जनकपुरका राहुल यादव र विशाल सुशलिङले समान दुई–दुई विकेट लिए। यस्तै हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट हात पारे।
यस सिजन उत्कृष्ट लयमा रहेको लुम्बिनी तीन खेलबाट पाँच अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। अपराजित रहेको लुम्बिनी आजको खेलमा पनि जित निकाल्दै आफ्नो अग्रता कायम राख्ने लक्ष्यमा छ।
यता जनकपुरले चार खेलबाट दुई जित र दुई हारसहित चार अंक जोडेको छ। १५० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको जनकपुर आजको खेल जितेर अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने दाउमा छ।

























