चार दशकको प्रतीक्षापछि कटनुखोलामा पक्की पुल, १४ महिनामै निर्माण सम्पन्न

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १२:०९

विराटनगर । वर्षायाम लागेपछि खोला तर्नै मुस्किल हुने, बाँस र काठको अस्थायी पुलको भर पर्नुपर्ने । बाढी आउँदा आवागमन नै ठप्प हुने ।

मोरङको रतुवामाई नगरपालिका–८ का स्थानीयले कटनुखोलामा पुल नहुँदा चार दशकसम्म यस्तै सास्ती भोगे । तर, अहिले उनीहरूको त्यो बाध्यता इतिहास बनेको छ । कटनुखोलामा पक्की पुल निर्माण भएपछि स्थानीयको लामो प्रतीक्षाले पूर्णता पाएको हो ।

डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सडकअन्तर्गत निर्माण गरिएको २५ मिटर लामो आरसीसी टी–गर्डर पुल निर्धारित दुई वर्षको सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको छ । निर्माण सुरु भएको १४ महिनामै पुल तयार भएपछि कोशी प्रदेशको पूर्वाधार निर्माणमा एउटा सकारात्मक उदाहरण थपिएको छ । नवनिर्मित पुलको कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले शुक्रबार उद्घाटन गरे ।

पुल सञ्चालनमा आएपछि विशेषगरी वर्षायाममा आवागमन गर्नुपर्ने जोखिमबाट स्थानीयले मुक्ति पाएका छन् । विद्यार्थीलाई विद्यालय पुग्न, किसानलाई कृषि उपज बजारसम्म पुर्‍याउन र सर्वसाधारणलाई दैनिक कामकाजका लागि आवतजावत गर्न सहज भएको छ । यसअघि सामान्य बाढी आउँदासमेत कटनुखोला पार गर्न समस्या हुने गरेको थियो ।

पुल निर्माणका लागि जग्गा निःशुल्क उपलब्ध गराएका स्थानीय ज्येष्ठ नागरिक प्रेमबहादुर अधिकारीका लागि यो आयोजना एउटा पूर्वाधार निर्माणमा सीमित छैन । २०४० सालदेखि पुल निर्माणको माग गर्दै आएका अधिकारीले चार दशकपछि आफ्नै आँखाअगाडि पक्की पुल बनेको देख्न पाएका छन् ।

‘२०४० सालदेखि नै यहाँ पुल बनाउन माग गर्दै आएका थियौँ । काठ र बाँसको पुल बाढीले पटक–पटक बगाउँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो । आज यति छिटो पक्की पुल बनेको देख्दा छाती गर्वले फुलेको छ । म अत्यन्तै खुसी छु,’ अधिकारीले भने ।

पुल निर्माणमा जग्गा उपलब्ध गराउने अधिकारी र स्वर्गीय टेकबहादुर खत्रीको परिवारलाई उद्घाटन कार्यक्रममा सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री आचार्यले समयमै र गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनीको प्रशंसा गरे । प्रदेश सरकारले अधुरा र अलपत्र आयोजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको उल्लेख गर्दै उनले समयसीमाभन्दा अगाडि नै आयोजना सम्पन्न हुनु सकारात्मक सन्देश भएको बताए । काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्नेसम्मको निर्देशन भइरहेको अवस्थामा जिम्मेवारीपूर्वक काम गर्ने निर्माण कम्पनीलाई प्रोत्साहन गरिने उनको भनाइ थियो ।

योजना निर्माणका लागि बजेट सुनिश्चित गर्न पहल गरेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेती ‘सुशील’ले लामो समयदेखि रोकिँदै आएको विकास योजनाले अन्ततः मूर्तरूप पाएको बताए । उनका अनुसार यसअघि दुई–तीन पटक बजेट विनियोजन भए पनि खर्च हुन नसक्दा योजना कार्यान्वयनमा आउन सकेको थिएन । निरन्तरको पहलपछि बजेट सुनिश्चित भएको र निर्माण व्यवसायीले छोटो समयमै काम पूरा गरेको उनले बताए ।

उप्रेतीले रतुवामाई क्षेत्रमा विकासका अन्य योजनासमेत अघि बढिरहेको जानकारी दिए । उनका अनुसार सोही क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त योजनालाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउन प्रयास भइरहेको उनले बताए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यले दुई वर्षको सम्झौता अवधिमा सम्पन्न गर्नुपर्ने पुल १४ महिनामै निर्माण हुनु अनुकरणीय भएको बताए । समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहित गरिने उल्लेख गर्दै उनले यस्ता उदाहरणले विकास निर्माणमा ढिलासुस्ती गर्ने प्रवृत्ति निरुत्साहित गर्न सहयोग पुग्ने बताए ।

रतुवामाई–८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीले पुल बनेपछि वडावासीले वर्षौँदेखि भोग्दै आएको जोखिमपूर्ण यात्रा अन्त्य भएको बताए । उनले आयोजना सम्पन्न गर्न सहयोग गर्ने प्राविधिक, निर्माण व्यवसायी र स्थानीयवासीप्रति आभार व्यक्त गरे ।

पूर्वाधार विकास कार्यालय मोरङमार्फत निर्माण भएको पुलमा कुल ६ करोड ५३ लाख १७ हजार ६२६ रुपैयाँ खर्च भएको छ । थानी–लेखराज–बुढाथोकी जेभीले निर्माण गरेको पुल १७ मिटर गहिरो पाइल फाउन्डेसनमा आधारित छ । पुलमा ६ मिटरको क्यारिजवे तथा दुवैतर्फ १.२ मिटर चौडाइको फुटपाथ निर्माण गरिएको छ ।

चार दशकसम्म माग र प्रतीक्षामा सीमित रहेको कटनुखोलाको पुल अहिले स्थानीयका लागि सहज आवागमनको माध्यम बनेको छ । निर्धारित समयभन्दा अगाडि सम्पन्न भएको आयोजनाले विकास निर्माणमा इच्छाशक्ति, समन्वय र जिम्मेवारीपूर्ण कार्यसम्पादन भए नतिजा दिन लामो समय कुर्नुपर्दैन भन्ने सन्देशसमेत दिएको छ ।

तपाइको प्रतिक्रिया
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
मन्त्री बादीद्वारा राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन
विपद्‍मा बेपत्ता २ हजार २९४ नेपाली र १७१ विदेशीको विवरण सार्वजनिक
इलामको सुम्बेकमा भएको आगलागीमा धनमाल क्षति
सुनसरीमा पटाका बोकेको स्कुटरलाई पछ्याउँदा प्रहरीको मोटरसाइकल दुर्घटना, सई घाइते
सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम, कला र संस्कृतिको संरक्षणमा जोड
दुई तिहाइको दम्भमा सरकार प्रश्न गर्नेहरूलाई लखेट्दै छ : संग्रौला
‘अदालतका फैसला सर्वसाधारणले बुझ्ने हुनुपर्छ’
धरानमा बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि, तीन जनामाथि अनुसन्धान
तिहार : धनकुटाका फूल किसानलाई चटारो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.