विस्फोटक पदार्थ राखिएको बोरा ।विराटनगर । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस वस्तु विस्फोटक पदार्थ रहेको पुष्टि भएको छ ।
प्रहरीका अनुसार बरामद भएको वस्तु विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने बारुदको घटक भएको पत्ता लागेको हो । भन्सार छली ल्याइएका सामानसँगै बरामद उक्त पदार्थ परीक्षणका लागि पठाउँदा कम विस्फोटक पदार्थ (गन पाउडर०को घटक रहेको खुलेको छ ।
प्रहरीले गत कात्तिक १० गते धरान उपमहानगरपालिका–८ स्थित तीनकुनेमा इटहरीबाट धरानतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको थियो । बोराभित्र प्याकिङ गरेर राखिएको अवस्थामा ४७ किलो सेतो ठोस पदार्थ बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिएर परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको थियो ।
प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनमा उक्त पदार्थ कम विस्फोटक पदार्थ अर्थात् बारुदमा प्रयोग हुने घटक भएको उल्लेख छ । प्रतिवेदन आएपछि प्रहरीले पक्राउ परेका तीन जनामाथि अभद्र व्यवहारसँगै विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको छ ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार मिनी ट्रकमा सवार व्यक्तिहरूले भन्सार छली ल्याइएका विभिन्न सामानसहित उक्त पदार्थ ओसारपसार गरिरहेका थिए । चेकजाँचका क्रममा सामान नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी कर्मचारीमाथि समेत अभद्र व्यवहार गरेको खड्काले बताए । त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको थियो ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन् । कात्तिक १० गते बरामद भएको पदार्थको वास्तविक प्रकृति प्रयोगशालाको परीक्षणपछि मात्र खुलेको हो । त्यसैले प्रहरीले शनिबार (कात्तिक २१ गते) घटनाको जानकारी दिँदै विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको जनाएको छ ।
भन्सार छलीका सामान ओसारपसारका क्रममा फेला परेको ठूलो परिमाणको बारुदको घटकले उक्त पदार्थ कहाँबाट ल्याइएको थियो, कहाँ पुर्याउन खोजिएको थियो र यसको प्रयोजन के थियो भन्ने प्रश्नसमेत उठाएको छ । प्रहरीले यी विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने डीएसपी खड्काले बताए ।

























