
सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको अनुगमन गरेकी छन् ।
अनुगमनका क्रममा उनले खेल मैदान, प्याराफिटलगायत निर्माणाधीन पूर्वाधारको अवस्था र प्रतियोगिताको व्यवस्थापकीय तयारीबारे सरोकारवालासँग जानकारी लिइन् ।
मन्त्री बादीले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन खेलाडीका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन तथा अन्य सेवा–सुविधाको अवस्थाबारे पनि चासो राखेकी थिइन् । उनले तोकिएको समयभित्र सबै तयारी पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
१०औँ राष्ट्रिय खेलकुदले नयाँ खेल प्रतिभाको पहिचान, खेल क्षेत्रको विकास र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै मन्त्री बादीले प्रतियोगिताको सफलताको शुभकामना दिइन् ।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रियस्तरको यस प्रतियोगिताले प्रदेशको खेल पर्यटन, पूर्वाधार विकास र राष्ट्रिय पहिचान प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

























