तिहार : धनकुटाका फूल किसानलाई चटारो

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १२:२०

धनकुटा । तिहार नजिकिँदै गर्दा धनकुटाका खेतबारीमा सयपत्री फूल टिप्ने र बजार पठाउने चटारो बढेको छ । पहेँलो र सुन्तला रङका फूलले ढकमक्क भएका बारीमा किसानलाई फूल टिप्न र ग्राहकको मागअनुसार माला तथा फूल तयार गर्न भ्याइनभ्याइ छ ।

तिहारमा घर सजाउनदेखि भाइटीकामा दाजुभाइलाई माला लगाइदिनसम्म सयपत्री फूलको माग हुने भएकाले धनकुटाका किसानले यसलाई आम्दानीको अवसरका रूपमा लिएका छन् । जिल्लामा व्यावसायिक फूलखेती विस्तार हुँदै जाँदा यहाँ उत्पादित फूल स्थानीय बजारमा मात्र नभई देशका विभिन्न सहरसम्म पुग्न थालेको छ ।

छथर जोरपाटी गाउँपालिका–६ मजुवाका खगेन्द्र पौडेल यतिबेला आफ्नै खेतबारीमा व्यस्त छन् । श्री पौडेल कृषि फार्ममार्फत करिब १० रोपनी जमिनमा सयपत्री खेती गरेका उनले तीन महिनाअघि रोपेका बिरुवाबाट फूल उत्पादन सुरु भएसँगै बजार पठाउन थालेका हुन् ।

उनले धनकुटासहित धरान, विराटनगर, बुटवल र काठमाडौंसम्म फूल पठाइरहेका छन् । जिल्लाभित्र र बाहिरबाट माग बढेकाले सबै ठाउँमा फूल पुर्‍याउन कठिन भइरहेको पौडेलले बताए । यस वर्ष करिब १० टन फूल उत्पादन गर्ने उनको लक्ष्य छ । अहिले फूल प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको उनले जानकारी दिए ।

पौडेलका अनुसार कतिपय बजारमा फूल किलोका आधारमा बिक्री हुन्छ भने कतिपय ठाउँमा मुठा बनाएर बेच्ने गरिएको छ । तिहारलाई लक्षित गरी फूलखेती गर्दा बजारको माग राम्रो हुने भए पनि उत्पादनमा समस्या देखिने गरेको उनको अनुभव छ । तिहार आउन करिब १०० दिनअघि रोप्नुपर्ने फूलमा लेकाली क्षेत्रमा ढुसी लाग्ने र पातमा छिर्का बस्ने समस्या देखिने गरेको उनले बताए ।

धनकुटा नगरपालिका–७ का प्रवीण पोख्रेल पनि फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षामा छन् । एक रोपनी जमिनमा लगाएको फूलखेतीबाट यस वर्ष करिब दुई लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ ।

विगतका वर्षमा भारतीय फूल र कृत्रिम मालाका कारण नेपाली किसानलाई आफ्नै उत्पादन बिक्री गर्न कठिन भएको पोख्रेल बताउँछन् । स्वदेशी उत्पादनले उचित बजार पाउन भारतीय फूल र कृत्रिम मालाको अनियन्त्रित आयात तथा प्रयोग नियन्त्रण गर्नुपर्ने उनको माग छ ।

गत वर्ष भारतीय फूल नआउँदा स्थानीय किसानले उत्पादन गरेको फूल सहज रूपमा बिक्री गर्न पाएको उनले बताए । यस वर्ष पनि बिचौलियामार्फत फूल बिक्री गर्नुभन्दा सिधै उपभोक्तासम्म पुर्‍याउने तयारीमा रहेको पोख्रेलले जानकारी दिए ।

५१ रोपनीमा फूलखेती

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा कम्तीमा ५१ रोपनी क्षेत्रफलमा फूलखेती भइरहेको छ । यस वर्ष करिब छ मेट्रिकटन फूल उत्पादन हुने अनुमान गरिएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यका अनुसार जिल्लाका किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्मको फूल उत्पादन गरी बिक्री गर्दै आएका छन् ।

फूलखेती गर्ने किसानका लागि छुट्टै कार्यक्रम नभए पनि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको उनले बताए । किसानको आकर्षण बढ्दै जानु फूलखेती विस्तारका लागि सकारात्मक भएको आचार्यको भनाइ छ । केन्द्रको तथ्याङ्कमा समेटिएको क्षेत्रफलभन्दा बढी जमिनमा पनि जिल्लामा फूलखेती भइरहेको हुन सक्ने उनले बताए ।

धनकुटामा फूलखेती विस्तार हुँदै गए पनि किसानका लागि बजारको चुनौती कायमै छ । विशेषगरी भारतीय फूलको आयात र कृत्रिम मालाको बढ्दो प्रयोगले स्थानीय उत्पादनको बिक्री प्रभावित हुने गरेको किसानको गुनासो छ ।

तिहारमा मात्रै नभई अन्य चाडपर्व, विवाह, पूजाआजा तथा मेला–महोत्सवमा समेत कृत्रिम मालाको प्रयोग बढिरहेको छ । आकर्षक देखिने र लामो समयसम्म टिक्ने भएकाले उपभोक्ताको रोजाइमा कृत्रिम माला पर्न थालेको किसान बताउँछन् ।

स्थानीयस्तरमै उत्पादन भएका प्राकृतिक फूलको प्रयोग बढाउन सके किसानले बजार पाउनुका साथै गाउँको कृषि उत्पादन र स्थानीय अर्थतन्त्रमा पनि टेवा पुग्ने पौडेलको भनाइ छ । कृत्रिम मालाको प्रयोग घटाएर प्राकृतिक फूललाई प्राथमिकता दिनुपर्ने पोख्रेल बताउँछन् ।

तिहारको मागलाई लक्षित गरी धनकुटाका किसानले गरेको फूलखेतीले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने सम्भावना देखाएको छ । तर, उत्पादन बढेसँगै त्यसको उचित बजार व्यवस्थापन र आयातित तथा कृत्रिम फूलसँगको प्रतिस्पर्धा सम्बोधन गर्नुपर्ने चुनौती पनि किसानसामु छ ।

तपाइको प्रतिक्रिया
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
मन्त्री बादीद्वारा राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन
विपद्‍मा बेपत्ता २ हजार २९४ नेपाली र १७१ विदेशीको विवरण सार्वजनिक
इलामको सुम्बेकमा भएको आगलागीमा धनमाल क्षति
सुनसरीमा पटाका बोकेको स्कुटरलाई पछ्याउँदा प्रहरीको मोटरसाइकल दुर्घटना, सई घाइते
सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम, कला र संस्कृतिको संरक्षणमा जोड
दुई तिहाइको दम्भमा सरकार प्रश्न गर्नेहरूलाई लखेट्दै छ : संग्रौला
‘अदालतका फैसला सर्वसाधारणले बुझ्ने हुनुपर्छ’
धरानमा बरामद वस्तु विस्फोटक पदार्थ भएको पुष्टि, तीन जनामाथि अनुसन्धान
तिहार : धनकुटाका फूल किसानलाई चटारो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.