मोरङमा अटो अनियन्त्रित भएर घरमा ठोक्किँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १८:२८

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ शान्ति टोलमा अटो अनियन्त्रित भएर दुईवटा घरमा ठोक्किँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ ।

मधुमल्ला–टाँडी सडकखण्डमा सोमबार दिउँसो करिब ३ः३० बजेतिर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रदेश १–०२–००३ ह ६५७ नम्बरको अटो स्थानीय उमा मगर र ओमकुमार दाहालको घरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा परेर अटोमा सवार मिक्लाजुङ–६ की ६५ वर्षीया नरमाया मगर गम्भीर घाइते भएकी छन् । उनको दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ । त्यस्तै, मिक्लाजुङ–७ की २७ वर्षीया मनिषा मगरको दाहिने खुट्टा भाँचिएको छ । उनको अवस्था मध्यम रहेको छ । मनिषाका ३ वर्षीय छोरा नेडियन मगर पनि घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

दुर्घटनामा अटो चालक मिक्लाजुङ–६ का ४४ वर्षीय वीरेन्द्र खड्का, ३० वर्षीय विजय बुढाथोकी र उनकी १९ वर्षीया श्रीमती अनिषा खड्का सामान्य घाइते भएका छन् । उनीहरूलाई टाउको तथा खुट्टामा चोट लागेको छ ।

घाइते सबैलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पठाइएको छ । दुर्घटनामा अटोमा क्षति पुगेको छ भने उमा मगर र ओमकुमार दाहालको घरमा समेत सामान्य क्षति भएको छ ।

दुर्घटनामा परेको अटो नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मधुमल्लामा राखिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.