देउसी–भैलोमा रातभर रमाउन पाइने, मर्यादा उल्लंघन गर्न नपाइने

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार १८:५९
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन

काठमाडौं । तिहारमा देउसी–भैलो खेल्न अब रातको समयसीमाले रोक्ने छैन । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार सचिवस्तरीय निर्णय गर्दै आवश्यक सुरक्षा र मर्यादा कायम गरेर दिनरात देउसी–भैलो खेल्ने वातावरण बनाउन परिपत्र गरेको हो । यससँगै देउसी–भैलो सञ्चालनका लागि रातको समयसीमा तोकेर रोक लगाउन नपर्ने भएको छ ।

तर, चौबिसै घण्टा कार्यक्रम सञ्चालन गर्न पाइने भए पनि त्यसका नाममा मनपरी गर्न भने पाइने छैन । मन्त्रालयले देउसी–भैलोलाई पूर्ण रूपमा स्वेच्छिक र मर्यादित बनाउन, कसैलाई चन्दा वा दक्षिणा दिन दबाब नदिन तथा मौलिक संस्कृति र सामाजिक सद्भावमा असर पर्ने गतिविधि रोक्न प्रशासनलाई भनेको छ ।

जातजाति, धर्म, भाषा, लिंग वा समुदायप्रति घृणा र द्वेष फैलाउने अश्लील गीत, संगीत, नृत्य तथा नारामा रोक लगाउन पनि निर्देशन दिइएको छ । सांस्कृतिक परम्पराको संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दा अनुशासन र सुरक्षालाई प्राथमिकता दिनुपर्ने मन्त्रालयको भनाइ छ ।

तिहारका नाममा जुवा–तास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरेर होहल्ला गर्ने तथा मादक वा लागु पदार्थ सेवन गरी सवारी चलाउने गतिविधि नियन्त्रण गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

त्यसैगरी, ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम बजाउन नपाइने र अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्नेछ । कुनै शंकास्पद गतिविधि, दुर्घटना वा समस्या देखिए तत्काल प्रहरी नियन्त्रण कक्ष १०००० वा आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.