चितवन राइनोजलाई पराजित गर्दै काठमाडौं गोर्खाज शीर्ष स्थानमा

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २३, सोमबार २०:४९

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार भएको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमाडौं गोर्खाज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलबाट ८ अंक जोडेको काठमाडौं प्लेअफ नजिक पुगेको छ । चितवन भने ५ खेलमा दोस्रो हार बेहोर्दै ५ अंकसहित चौथो स्थानमा छ ।

काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले ३५ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रन बनाए । डान मोस्लीले २९, किमल मिसराले २८ र अर्जुन साउदले २३ रन जोडे । कुशल मल्ल १३ रनमा आउट भए ।

काठमाडौंका सहान अराचिगेले २ विकेट लिए भने जहानदाद खान, करण केसी, सन्तोष यादव र गणेश गौतमले १–१ विकेट लिए । एनपीएलमा डेब्यु गरेका गणेशले चितवनका कप्तान सिकन्दर राजालाई आउट गरेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो । उसका लागि रासिद खानले सर्वाधिक ५२ रन बनाए । १३ रनमै २ विकेट गुमाएको अवस्थामा रासिदले विलियम बोसिस्टोसँग ६२ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले । बोसिस्टोले २७ रन बनाए ।

रासिदले सहान अराचिगेसँग चौथो विकेटका लागि ५३ रनको साझेदारी गरे । अराचिगेले २० बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाए । रासिदले ३० बलमा २ चौका र ४ छक्कासहित ५२ रन जोडे । यस सिजन उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्सविरुद्ध ५० रन बनाएका थिए ।

काठमाडौंका ओपनर डेभिड वार्नर १ र साहिल पटेल ८ रनमा आउट भएका थिए । कप्तान करण केसीले ७ बलमा ३ छक्कासहित २० रन बनाए । जहानदाद खान र आदिल आलमले समान ९ रन जोडे भने सन्तोष यादव ८ रनमा अविजित रहे । चितवनका रिजन ढकालले ३ विकेट लिए । सिकन्दर राजा र कमल सिंह ऐरीले २–२ तथा डान मोस्लीले १ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.