
काठमाडौं । जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, त्यसबाट सिर्जित चुनौती र दिगो आर्थिक विकासका सवाल अन्तर्राष्ट्रिय मञ्चमा उठाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्किए प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी हुन उनी सोमबार टर्किस एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्ताल्याका लागि उडेका हुन् । नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनमा अर्थमन्त्री वाग्लेले नेपालको प्रतिनिधित्व गर्दै उच्चस्तरीय आधा दर्जन सत्रमा सहभागिता जनाउने कार्यक्रम छ ।
सम्मेलनमा उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या, जलवायु न्याय र दिगो आर्थिक विकाससँग सम्बन्धित राष्ट्रिय सरोकारलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछन् । सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै आन्ताल्या पुगिसकेका छन्। अर्थमन्त्री वाग्ले भने कात्तिक २९ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।



















