
काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । सोमबार साँझ जारी विशेष बुलेटिनअनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ ।
विभागका अनुसार कात्तिक २५ गते बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
कात्तिक २६ गते बिहीबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ । उक्त दिन कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
त्यस्तै, कात्तिक २७ गते शुक्रबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
मङ्गलबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।
यसैगरी, सोमबार राति पनि हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।



















