
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७, म्ह पूजा तथा न्हूदँया भिन्तुनाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समय चक्र र राष्ट्रिय पहिचान भएको उल्लेख गरेका छन्। चन्द्रमामा आधारित यो संवत् ले नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको उनको भनाइ छ।
म्ह पूजाको सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले ‘म्ह’ अर्थात् आफ्नै शरीर र त्यसमा रहेको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्ने परम्परा आत्मशुद्धि र चेतनाबोधसँग जोडिएको बताएका छन्। अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा गरिने यस पूजाले नेवार समुदायमा आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप मजबुत बनाएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले गोवर्धन पूजा तथा हली तिहारको पनि शुभकामना दिएका छन्। भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीको रक्षा गरेको धार्मिक मान्यतासँग जोडिएको गोवर्धन पूजामा गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्परा रहेको उनले स्मरण गरेका छन्।
त्यस्तै, देउसी–भैलोका भाका र आशीर्वादले छरछिमेकमा आत्मीयता तथा सद्भाव बढाउने उल्लेख गर्दै उनले नेपालीका मौलिक चाडपर्वले आपसी रिसराग बिर्साएर सामाजिक एकता र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल संवत् ११४७, न्हूदँया भिन्तुना तथा म्ह पूजाको पवित्र अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै प्रधानमन्त्री शाहले मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका छन्।



















