झापाका बजारमा फायर हाइड्रेन्ट अभाव

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २४, मंगलबार १४:२१

भद्रपुर । झापाका प्रमुख बजार क्षेत्रमा सहरीकरण र व्यापारिक भवन निर्माण तीव्र भए पनि आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वाधार विस्तार हुन सकेको छैन । विशेषगरी बिर्तामोड, भद्रपुर र दमकमा दमकलले सहज रूपमा पानी भर्न सक्ने फायर हाइड्रेन्टको व्यवस्था नहुँदा आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ ।

यसको उदाहरण बुधबार बिहान बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै राजेश मण्डलको दुईतले घरमा भएको आगलागी बनेको छ । आगो नियन्त्रणका लागि जिल्लाका सातवटा दमकल परिचालन गरिए पनि पानीको स्रोत अभावमा निकै कठिनाइ भयो । साढे पाँच घण्टापछि नियन्त्रणमा आएको आगलागीबाट करिब छ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

दमकलले पानी भर्न बुट्टाबारी र बिर्ताबजार पुग्नुपर्ने अवस्था आएपछि नजिकै रहेको सिद्धार्थ होटलको स्विमिङ पुल प्रयोग गरिएको थियो । बिर्तामोड नगरपालिकाका दमकल इञ्चार्ज नवीन मेचेका अनुसार आगो निभाउन प्रयोग भएको कुल पानीमध्ये करिब ५० प्रतिशत होटलको स्विमिङ पुलबाट आपूर्ति गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत भदौ र असोजमा झापामा १९ वटा आगलागीका घटना भएका थिए । ती घटनाबाट १० करोड ७८ लाख ९२ हजार ९७५ रुपैयाँ बराबरको क्षति भएको थियो । विशेषगरी असोजमा भएको ठूलो आगलागीका कारण क्षतिको रकम बढेको हो ।

जिल्लाका प्रमुख बजारमा फायर हाइड्रेन्ट नहुँदा दमकलले मोटर, नाला, खोल्सा तथा अन्य उपलब्ध पानीका स्रोतमा निर्भर हुनुपरेको छ । भद्रपुरमा नगरपालिका परिसरको मोटरबाट पानी भर्ने गरिएको छ भने दमकमा पनि बजार क्षेत्रभन्दा टाढा पानी भर्ने स्थान रहेका छन् । विद्युत् अवरुद्ध हुँदा पानी भर्ने मोटर सञ्चालनमा समेत समस्या हुने गरेको छ ।

झापाका सबै स्थानीय तहमा दमकल सेवा पनि उपलब्ध छैन । मेचीनगर, दमक, बिर्तामोड, भद्रपुर, गौरादह, शिवसताक्षी र अर्जुनधारामा दमकल सेवा रहे पनि दक्षिणी क्षेत्रका झापा, कचनकवल र गौरीगञ्ज गाउँपालिकामा आगलागी हुँदा अन्य पालिकाबाट दमकल बोलाउनुपर्ने बाध्यता छ । दूरी टाढा हुँदा घटनास्थल पुग्न ढिलाइ हुने जोखिम छ ।

आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वाधार विस्तार गर्न स्थानीय तहले तयारी थालेका छन् । बिर्तामोडमा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बिर्तामोड चोक, चारपाने र बुट्टाबारीलगायत क्षेत्रमा फायर हाइड्रेन्ट जडान गर्ने योजना बनाएको छ । अर्जुनधारा नगरपालिकाले पनि खानेपानी संस्थासँग समन्वय गरी हाइड्रेन्ट निर्माण गर्ने तयारी गरेको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले प्रमुख बजार क्षेत्रमा पानीको सहज उपलब्धताका लागि स्थानीय तहसँग समन्वय गरिने बताए ।

विज्ञ तथा सरोकारवालाले बजार विस्तारसँगै आगलागी नियन्त्रणका पूर्वाधार पनि विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । सार्वजनिक पोखरी, पानी ट्याङ्की र फायर हाइड्रेन्टको व्यवस्था गर्न सके आगलागीका बेला पानी खोज्दै समय बिताउनुपर्ने अवस्था कम हुने उनीहरूको भनाइ छ । बिर्तामोडको आगलागीमा निजी होटलको स्विमिङ पुलले ठूलो सहयोग गरे पनि हरेक घटनामा निजी संरचनाको पानीमा निर्भर रहनुपर्ने अवस्था अन्त्य गर्न सार्वजनिक पानीका स्रोत र अग्नि नियन्त्रण पूर्वाधारको दीर्घकालीन व्यवस्था आवश्यक देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.